वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सुन्दर नगरी पोखरामा रास्वपाको पर्यटन र रविको हिरासतवास 

 

आफ्ना सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ५ दिनदेखि पोखरामा छन् । लामिछानेलाई पक्राउ गरेसँगै केही नेताहरु त्यही रात पोखरा पुगेका थिए भने बाँकी भोलिपल्ट । पर्यटकीय नगरी पोखरामा केही न केही नयाँनयाँ झाँकी र प्रदर्शनीहरु भइरहन्छन् । गत शनिबारदेखि नयाँ झाँकी थपिएको छ र बेग्लै रौनक छाएको छ । दिनदिनै जसो राष्ट्रिय झण्डा बोकेर सडकमा नाचगान चलिरहेको छ । रोमान्टिक हिन्दी गीत र बलिवुड डान्सको प्रस्तुतिले पक्कै पनि पर्यटकहरुलाई रोचाञ्चक अनुभूति दिलाएको होला

https://barnanmedia.com/news/detail/199903/ 

सहकारी ठगीबाट जोगिन कागजी डिभोर्स गरेका धनराजले गरे कुतर्क 

मान्छे गल्ती ढाकछोप गर्न एकपछि अर्काे गल्ती गर्छ। त्यसको चरितार्थ बनेका छन् कांग्रेस उपसभापति एवं पूर्वकानुनमन्त्री धनराज गुरुङ। सहकारी ठगी प्रकरणबाट जोगिन श्रीमती ज्योतिसँग कागजी डिभोर्स गरेका धनराजका एकपछि अर्काे कर्तुत बाहिरिन थालेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बनेपछि गुरुङ पनि सहकारी ठगीमा संलग्न रहेको बाहिरिएको थियो, गत जेठमा। ललितपुरको मितेरी सहकारीको १४ करोड  हिनामिनामा गुरुङकी श्रीमति ज्योती गुरुङ फरार छन्। उनी सहकारीको व्यवस्थापक थिइन्। यो विषय बाहिर आएपछि धनराजले ०७६ मै डिभोर्स गरिसकेको बताएका थिए। गुरुङले ‘झुट’ कुरा बोलेको पुष्टि भएको थियो। 

https://barnanmedia.com/news/detail/199859/ 

बीपी राजमार्गमा २४ घण्टा नै यातायात सञ्चालन हुने, जोखिम भने उतिकै 

बीपी राजमार्गमा अब २४ घण्टा नै यातायात सञ्चालन हुने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गर्दै राजमार्गमा २४ घण्टा नै यातायात सञ्चालनमा आएको जनाएको हो।  नयाँ ट्र्याक खोलिएको ठाउँमा मर्मत कार्य चलिरहेकोले असोज ३० गते साँझ ६ देखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको थियो।  गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले भकुण्डेबेंसी-बर्षेखोला खण्डको ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा बगाएपछि नयाँ ट्र्याक बनाएर यात्रुवाहक सवारी साधनका लागि मात्र आवागमन खुलाइएको छ। उक्त राजमार्गमा जोखिम भने कायमै छ। 

अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्ध विच्छेदको खबरले सामाजिक सञ्जाल तातियाे 

बलिउडको पावर कपल अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्ध विच्छेदको खबरले सामाजिक सञ्जालमा यतिबेला चर्चामा छ । उनीहरुको बिछोडको खबर दिनहुँ आइरहेको छ । यसैबीच, हालै अभिषेक बच्चनले आफ्नी श्रीमती ऐश्वर्या रायलाई धोका दिएको आरोप समेत लगाएकाे थियाे । अभिषेक बच्चनको नाम चर्चित अभिनेत्री निम्रत कौरसँग जोडिएको छ । अब यस्तो अवस्थामा अभिषेक बच्चनले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेका छन् । यो देखेर फ्यानहरुले अभिषेक बच्चन पत्नी ऐश्वर्या रायसँगको बिग्रँदै गएको सम्बन्ध सुधार्न चाहेको भनिरहेका छन् । 

काठमाडौं हिँडेको बसले साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको मृत्यु, आक्रोशित भीडद्वारा प्रहरी बिटमा आगजनी 

झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ। आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन्।  करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन्। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन्। भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन्। 

 साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश 

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ । बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ ।पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो । ​​​​​बंगलादेश र भारतबीचको बुधबारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् । भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो ।  

 वडाध्यक्ष मुकेश यादवको हत्या आरोपी दुई जना जेल चलान 

यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए  जिल्ला न्यायाधीश नवराज दुलालको ईजलाशले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो ।

वडाध्यक्ष अमेरिकाबाट वडामा नफर्केपछि वडा कार्यालयमा लगाईयाे ताला

खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कट्वाल अमेरिकाबाट वडामा नफर्केपछि वडा कार्यालयमा ताला लगाईएको छ । वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएका थिए । नौ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईकै संयोजकत्वमा वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाईएको समितिले वडाध्यक्ष कट्वाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो । तर, वडाध्यक्ष अल्टिमेटम कटेर महिनौ बित्दा पनि वडा नफर्केपछि अन्ततः ताला लगाउन बाध्य भईएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो। 

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ 

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोराङमा सरसफाइ गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।  “पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो”, उहाँले भन्नुभयो, “कुहिने फोहरलाई खाडल खनेर गाडेका छौँ । पलास्टिक जन्य फोहरलाई जलाएर नष्ट गरेका छौँ । सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।” करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताउनुभयो । 

‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ 

लगानीकर्ता र ऋणीका लागि ‘क्रेडिट रेटिङ’ गरी व्यवसाय तथा उद्यमशीलतामा लगानी गर्दा सम्भावित जोखिमबारे पूर्वानुमान गर्न सकिने सरोकारवालाले बताएका छन् ।   इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको ‘लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’का सहभागीले ‘क्रेडिट रेटिङ’ गरेर लगानी गर्दा सम्भावित जोखिमबारे केही हदसम्म पूर्वानुमान गर्न सकिने बताएका हुन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका क्रेडिट रेटिङ विश्लेषक समिज्ञा आचार्यले रु ५० करोडभन्दा बढी पुँजी भएका कम्पनीको क्रेडिट रेटिङ अनिवार्य रहेको बताउनुभयो । “कम्पनीको क्रेडिट रेटिङ गर्नाले कम्पनीको वित्तीय र सञ्चालनको अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कम्पनी ऋण तिर्न सक्ने अवस्थामा छ कि छैन । सो कम्पनीमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्ने जानकारी पाउन सकिन्छ ।  

काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने 

काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ।  गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। हाल ३५  व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए। प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो।  त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ। ‘आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्’, प्रमुख पाण्डेले भने।

 काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो

पछिल्लो साता काठमाडौं उपत्यकाको तापक्रम उतारचढावमा रह्यो । बिहान–साँझ मौसम धुम्म रह्यो । अर्थात्, काठमाडौं निकै धुमिलियो । विगतमा यस्तो अवस्था मंसिर मध्यपछि मात्रै हुन्थ्यो ।  तर, कात्तिक १ गतेपछि नै काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । कात्तिक ६ गतेसम्म २४ घण्टाको औसत पीएम २.५ को मात्रा ८५ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यो वातावरण विभागको तथ्यांक हो । ​​​​​​​ पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्दछ ।

पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा 

 नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ । क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको हो ।  नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रवीन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

अपहरणमा परेकि महिलाको चाल्नाखेलबाट उद्धार 

काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएको महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ  काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छविदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन 

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ ।  दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उहाँले सो कुरा बताउनुभएको हो ।रोम भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले वासिङ्टन पोस्टले पोस्ट गरेको भिडियोअनुसार भन्नुभयो, “उनीहरूले ठ्याक्कै के गरिरहेका छन् ? त्यो हेर्न बाँकी छ । यी कुराहरू हामीले पत्ता लगाउनु पर्ने विषय हुन् ।” ​​​​​​​