काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो

पछिल्लो साता काठमाडौं उपत्यकाको तापक्रम उतारचढावमा रह्यो । बिहान–साँझ मौसम धुम्म रह्यो । अर्थात्, काठमाडौं निकै धुमिलियो । विगतमा यस्तो अवस्था मंसिर मध्यपछि मात्रै हुन्थ्यो ।

तर, कात्तिक १ गतेपछि नै काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । कात्तिक ६ गतेसम्म २४ घण्टाको औसत पीएम २.५ को मात्रा ८५ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यो वातावरण विभागको तथ्यांक हो । 

पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्दछ ।

औसतभन्दा बढ्दै पीएम २.५ को मात्रा

नेपाल सरकारले २४ घण्टाका निम्ति तोकेको पीएम २.५ को औसत मापदण्ड ४०–४० माइक्रो ग्राम प्रति घनमिटर हो । तर, पछिल्ला सात दिनमा यो मात्रा मापदण्डको दोब्बभरन्दा माथि पुगेको छ ।

विभागको रत्नपार्क स्टेसनको रेकर्ड अनुसार, कात्तिक १ गते राति १० बजे यो मात्रा ७० पुगेको छ । कात्तिक २ गते राति ९ बजे यो मात्रा ८५.३६, कात्तिक ३ गते राति ९ बजे ७१, कात्तिक ४ गते साँझ ६ बजे ६८, कात्तिक ५ गते साँझ ६ बजे ६२.५१ र कात्तिक ६ गते साँझ ७ बजे ७५.३३ पुगेको थियो ।

भक्तपुर र खुमलटार स्टेसनमा पनि २४ घण्टाको औसत पीएम २.५ को मात्रा ६० देखि ७७ माइक्रोग्राम प्रति घनमिटर पुगेको विभागको तथ्यांक छ । पछिल्ला चार दिन काठमाडौंमा पीएम २.५ को मात्रा ह्वात्तै बढेको र बुधबारबाट केही घटेको विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले जानकारी दिए ।

अब केहीदिन यो मात्रा उच्च हुने सम्भावना कम देखिएको उनको भनाइ छ । 

चाँडै बढ्न थाल्यो प्रदूषण, के हो कारण ?

सबैभन्दा प्रदूषित महिना जनवरीदेखि अप्रिलसम्म र डिसेम्बर हुने गरेको विभागका अघिल्ला वर्षहरूको रेकर्ड छ । सन् २०२३ मा रत्नपार्क स्टेसनको रेकर्ड अनुसार पीएम २.५ को मात्रा सबैभन्दा धेरै अप्रिलमा ७६.४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । 

सन् २०२४ मा पनि अप्रिलमा नै सबैभन्दा धेरै ८५.८ पुगेको विभागको तथ्यांक छ । सो मौसममा देशभर आगलागी र डढेलोका घटना अधिक भएका कारण प्रदूषण बढेको विभागको भनाइ छ । 

तर, यो वर्ष अक्टोबर दोस्रो तेस्रो साता नै पीएम २.५ को मात्रा ८५ भन्दा माथि पुग्नुले अवस्था चिन्ताजनक हुन सक्ने वायु प्रदूषण विज्ञहरू बताउँछन् । सन् २०२३ अक्टोबरमा पीएम २.५ को औसत मात्रा २०.३ मात्रै रहेको विभागको तथ्यांक छ ।

नेपालमा पीएम २.५ को मात्रा बढ्नुमा मुख्य तीन कारण रहेको निरीक्षक लामिछाने बताउँछन् । उनका अनुसार, सुक्खायाममा हुने डढेलो यसको मुख्य कारण हो । जाडोयाममा भने तापक्रम कम हुनु र नेपालसँग नजिक रहेका भारतका प्रदेशहरूमा प्रदूषण बढ्नु अन्य मुख्य कारक हुन् ।

उनका अनुसार, पछिल्लो साता काठमाडौं धुम्म भएका दिनहरूमा पनि भारतको बिहार र पटना धेरै प्रदूषित देखिएको थियो । हिजो–आज भारतको दिल्लीतर्फ प्रदूषण बढी छ, जसको असरस्वरूप पश्चिम तराईका जिल्लामा प्रदूषण बढेको देखिन्छ । 

विभागको पछिल्लो २४ घण्टाको रेकर्डमा दाङको देउखुरी सबैभन्दा प्रदूषित देखिएको छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स ( एक्यूआई) ११५ पुगेको  छ ।

यो वर्ष अक्टोबरमा नै पीएम २.५ को मात्रा उच्च हुनुमा तापक्रम घट्नु पनि कारण रहेको विज्ञहरू बताउँछन् । हिउँदमा हावाको वेग कमजोर हुने, वर्षा नहुने कारणले पनि वायुमा पीएम २.५ को मात्रा रहिरहने वातावरण विज्ञ रिना चौधरी बताउँछिन् ।

सुक्खायाममा वायु प्रदूषणको कारण वन डढेलो भए पनि हिउँदमा औद्योगिक धुँवा, सडक निर्माणका क्रममा निस्कने धुँवा–धुलो र सवारी साधनबाट निस्कने खराब धुँवा भएको उनको भनाइ छ ।

उनका अनुसार, तापक्रम न्यून हुँदा जमिनसँगैको हावा फैलिएर धेरै माथि जान सक्दैन । जसले गर्दा जति पनि धुलोका कणहरू उत्सर्जन भएका छन्, ती सबै जमिन नजिक थिग्रिएर बसिरहन्छन् ।

"तापक्रम न्यून हुँदा वायुमण्डलमा सिर्जना हुने विशेष अवस्था ‘इन्भर्सन इफेक्ट’ले गर्दा जमिन नजिकै रहेको चिसो हावालाई तातो हावाले ढाकेर राखेको हुन्छ र उत्सर्जन भएका प्रदूषण जमिनकै वरिपरि रहिरहने अवस्था बन्छ । जाडोयाममा वायु प्रदूषण बढ्नुको अर्को प्रमुख कारण यो पनि हो," विभागको रिपोर्टमा उल्लेख छ ।