फिल्म ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले फिल्मको तेस्रो गीत सार्वजनिक गरेको हो । यसअगाडि यो फिल्मको दुईवटा गीत ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ सार्वजनिक भइसकेको छ । 

सार्वजनिक यो गीतमा अञ्जु पन्त र आशिष अविरलको स्वर समावेश गरिएको छ भने एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । 

यो गीतको भिडियोमा कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर सहित यो फिल्मका मुख्य कलाकारहरु वर्षा राउत, विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरे फिचर्ड छन् । शिशिर खातीको कोरियोग्राफी रहेको यो गीतको भिडियो रमाइलो छ । गीतमा वर्षा ‘बेबी सावर’मा भएको जमघट र रमाइलो गर्दै गरेको देख्न सकिन्छ । 

निर्देशक शंकर घिमिरेको निर्देशन रहेको यो फिल्ममा विपिन कार्की दोहोरो भूमिकामा प्रस्तुत छन् । फिल्ममा उनी बाबु र छोरा बिचको दोहोरो भूमिकामा छन् । अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा प्रिन्स युवराज कार्की र श्रुती दाहाल छन् । 

सुशन प्रजापतिको छायांकन रहेको फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे घिमिरे हुन् । फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ ।