नेपाल प्रिमियर लिग : इङ्ग्ल्यान्डका क्रिकेटर टोम मोरिसले लुम्बिन लायन्सबाट खेल्ने

इङ्ग्ल्यान्डका क्रिकेटर टोम मोरिसले लुम्बिन लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेट किपर तथा बायाँ हाते ब्याटर मोरिसलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ ।

२८ वर्षिय मोरिसले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने मौका पाएका छैनन् । मोरिस अन्तर्राष्ट्रिय क्रिकेट अनुभव नभएका एनपिएलमा आबद्ध हुने पहिलो खेलाडी हुन् । उनले १ सय ४७ टि ट्वान्टीमा २ हजार ३ सय ११ रन बनाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले हालसम्म मुख्य प्रशिक्षकको नियुक्ती गरेको छैन ।

एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । मोरिस एनपिएलमा अनुबन्ध हुने सातौं विदेशी खेलाडी हुन् ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप, कर्णाली याक्सले पाकिस्तानका हुसेन तलात, सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब इल्यासलाई टोलीमा भित्र्याएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

लुम्बिनी लायन्स टिम

रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री