सुत्केरी बोकेको जीप दुर्घटना, शिशुको मृत्यु

काठमाडौँ, ७ कात्तिकःरोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप बुधबार बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ।

लु ३ च १६५६ नम्बरको जीप बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्यूठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन्। उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।