सुन्दर नगरी पोखरामा रास्वपाको पर्यटन र रविको हिरासतवास

आफ्ना सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ५ दिनदेखि पोखरामा छन् । लामिछानेलाई पक्राउ गरेसँगै केही नेताहरु त्यही रात पोखरा पुगेका थिए भने बाँकी भोलिपल्ट । 

पर्यटकीय नगरी पोखरामा केही न केही नयाँनयाँ झाँकी र प्रदर्शनीहरु भइरहन्छन् । गत शनिबारदेखि नयाँ झाँकी थपिएको छ र बेग्लै रौनक छाएको छ ।

दिनदिनै जसो राष्ट्रिय झण्डा बोकेर सडकमा नाचगान चलिरहेको छ । रोमान्टिक हिन्दी गीत र बलिवुड डान्सको प्रस्तुतिले पक्कै पनि पर्यटकहरुलाई रोचाञ्चक अनुभूति दिलाएको होला ।

कोभिडपछि भर्खर उठ्न लागेको पर्यटन क्षेत्रमा आकर्षण थप्न केही न केही नयाँ पहल आवश्यक पनि छन् । देशै बनाउने भनेर गठन गरिएको उदीयमान शक्ति रास्वपाले पनि त केही नयाँ प्रयास गर्नैपर्‍यो । देशका विभिन्न भागबाट उसले पर्यटनको राजधानी पोखरामा भेला पारेको छ । जीवनमा एकपटक पोखरा जानु र घुम्न पाउनु प्रत्येक नेपालीको सपना पनि हो । हजारौँ कार्यकर्ता र समर्थक पोखरा भेला पारेर उनीहरुको बसोवासको व्यवस्था मिलाइदिएर रास्वाले पोखराको पर्यटन क्षेत्रलाई ठूलो गुन लगाएको छ । 

तर अब यो व्यवस्थापन कहिलेसम्म चल्छ ? रवि पोखरामा रहेसम्म चल्ने हो कि ? रवि हिरासतमसम्म हुँदा मात्र प्रदर्शन गर्ने कि पुर्पक्षका लागि थुनामा गए पनि गरिरहने हो ? रवि बुटवल, चितवन, पर्सा र काठमाडौँसम्म बयानका लागि जानुपर्नेछ । ती सबै ठाउँमा तिनै समर्थक लैजाने कि नयाँलाई मौका दिने ? यी सारा प्रश्नको जवाफ नपाएर भेला हुने र व्यवस्थापन गर्ने व्यवसायी केही अलमलमा छन् । 

अब संसदको हिउँदे अधिवेशन सुरू हुनेछ । सम्भवतः छठपछि अधिवेशन आह्वान हुनेछ । त्यसअघि संसदीय समितिहरुबाट विधेयकहरु दफावार छलफल सकेर सदनमा पठाइदिनका लागि सभामुखले ताकिता गरिरहेका छन् । संसदीय सुनुवाइ समितिको बैठक पनि तत्काल बसेर दुईजना न्यायाधीशको नियुक्ति प्रक्रिया टुंग्याउनु छ । यी काम छाडेर पोखराको सडकमा ब्रेक डान्स गरिरहेका रास्वपाका सांसदहरुको अबको कार्यतालिका संसद सचिवालयले पनि खोजिरहेको छ । 

हो रास्वपा नयाँ शक्ति हो । पुरानोबाट आजित भएपछि नेपाली जनताले रोजेको शक्ति । २०६३ तिर माओवादी पनि यस्तै थियो । के कुरामा नारा लगाउने र के कुरामा नलगाउने भन्ने नयाँलाई थाहा हुँदैन । अदालतका न्यायाधीशले गरेका आधारमा आफ्ना पार्टीका सभापति थुनिन्छन् । फौजदारी कसुरमा अनुसन्धान चल्छ । अनि बाहिर नाराबाजी । त्यो पनि बहालावाला सांसदसमेत भएर । न्यायाधीशकै नाममा तथानाम भाषणबाजी । नयाँको यो कस्तो शैली र संस्कार हो ? विधिको शासनको सम्मान गर्छु भन्ने तहको परिपक्वता प्राप्त गर्न कति समय लाग्ने हो ? 

हुन त दुर्गा प्रसाई बल्ल रविका समर्थक बनेर निस्केका छन् । ज्वाला संग्रौला यसअघि नै रास्वाको केन्द्रीय सदस्य भइसकेकी छन् । आशिका तामाङले रास्वाको सदस्यता लिन बल्ल कानुन हातमा लिने अभ्यास गर्दै छिन् ।

हिजो रवि लामिछाने त्यस्तै शैली अपनाएर लोकप्रियता हासिल गर्दै देशको चौथो ठूलो शक्तिको नेता बन्न सफल भएका हुन् । अनि उनीहरु अदालत, न्यायाधीश र फौजदार न्यायप्रणालीमा धाबा बोल्नु स्वाभाविक छ । बरु उनीहरु आफ्नै अदालत चलाइदिनेछन् केही दिनमा ।