सोनार हत्या प्रकरण : भारतीय नागरिक पक्राउ

बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोनारको हत्या भएको एक सातापछि मुख्य आरोपित भारतको रक्सौल निवासी विजय गुप्तालाई पक्राउ गरेको हो ।

बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बुधबार विहान वीरगन्जको नाका इनर्वाबाट गुप्तालाई पक्राउ गरिएको जानकारी दिए । विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बारा प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रवक्ता सापकोटाले बताए ।
गएको १ कातिकमा बाराको गण्डक नहरमा सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगन्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका थिए ।

मृत अवस्थामा फेला परेको सोनारको घटना शंकास्पद रहेको भन्दै हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पोस्टमार्टम रिपोर्ट अनुसार सोनारको हत्या गरेको आधार भेटिएपछि प्रहरीले अनुसन्धानको सुरुमै मृतकका श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको थियो ।

मृतकका श्रीमती मनिषा देवीसँग गरिएको अनुसन्धान पश्चात् भारत रक्सौल निवासी गुप्ता पक्राउ परेको जनाइएको छ । मृतकका श्रीमती देवी पनि अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छन् ।