१७ बर्षीया किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान हुदैँ

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ।

गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ। किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ।

बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि आज जिल्ला अदालतबाट दोश्रो पटक सात दिनका लागि म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए। 

बेपत्ता किशोरीसंग निलम्बित प्रहरी हवल्दार जोशीको निकटको सम्बन्ध रहेको र उनले नै बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन्। किशोरी बेपत्ता भएकै दिन स्थानीयहरुले जोशीलाई दाम्लोले बाँधेर कुटपीट समेत गरेका थिए।