अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अमेरिकाको भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका - एसँग पराजित भएको छ। मंगलबार खेलिएको एकदिवसीय खेल नेपाली टोलीले ४ विकेटले हारेको हो ।
 
नेपालले प्रस्तुत गरेको ८२ रनको झिनो लक्ष्य अमेरिका - ए ले २३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । सन्दीप लामिछानेले ४ विकेट लिँदै अमेरिकी टोलीलाई केही चुनौती दिए पनि हार भने जोगाउन सकेनन् । उनले ८.१ ओभर बलिङ गर्दै २७ रन मात्र खर्चिए ।

अमेरिकाका लागि नितिश रेड्डीले सर्वाधिक २९ रन बनाए भने राहुल जरिवालाले २६ रनको योगदान दिए । सञ्जय कृष्णमूर्तिले १० रन जोडे । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट हात पारे ।
 
खेलमा नेपालले निकै निरीह ब्याटिङ प्रदर्शन गरेको थियो । टोलीले २५.२ ओभरमा मात्र ८१ रन बनाउन सक्यो । कुशल मल्लले सर्वाधिक १८ रनको योगदान दिए भने देव खनालले १२ रन बनाए । कप्तान रोहित पौडेलले ११ रन तथा भीम सार्कीले १० रन जोडे ।

अमेरिकाका लागि आरिन नदकर्नीले ४ विकेट हात पारे । त्यस्तै, आयान देसाईले २ तथा अभिषेक पारादकर, उत्कर्ष श्रीवास्तवा र अलि शेखले १-१ विकेट लिए ।