मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र ‘छिटो’ समाधान होस् भन्ने चाहेको बताउनुभएको छ ।

कजान शहरमा कडा सुरक्षाबीच आयोजित तीन दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । सम्मेलनमा पुटिनले पश्चिमको ‘प्रभुत्व’ लाई चुनौती दिने उद्देश्यले गठबन्धन निर्माण गर्न खोजिरहनुभएको छ ।

“रूस र युक्रेनबीचको द्वन्द्वबारे हामी निरन्तर सम्पर्कमा छौँ”, हात मिलाएर अङ्कमाल गरेपछि मोदीले पुटिनलाई भन्नुभयो, “विवादहरू शान्तिपूर्ण रूपमा मात्र समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ, हामी शान्ति र स्थिरता छिटो बहाली गर्ने प्रयासहरूलाई पूर्ण समर्थन गर्छौँ ।”

पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्दै सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युक्रेन द्वन्द्व सुरु भएदेखि नयाँदिल्लीले कूटनीतिक सन्तुलन कायम राख्दै किएभलाई मानवीय सहायताको प्रतिबद्धता जनाए पनि रूसको आक्रमणको स्पष्ट निन्दा गर्नबाट बचेको छ ।भारतले आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै मोदीले वार्तालाई प्रोत्साहन गर्ने प्रयासमा अगस्टमा किएभ र जुलाईमा मस्कोको भ्रमण गर्नुभयो ।

चिनियाँ राष्ट्रपपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो 
गुटेरेससहित करिब दुई दर्जन अन्य नेताहरू शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ ।एजेन्डाका मुख्य मुद्दाहरूमा स्विफ्टको विकल्पका रूपमा ब्रिक्स नेतृत्वको भुक्तानी प्रणालीको पुटिनको विचार र मध्यपूर्वमा बढ्दो द्वन्द्व समावेश छन् । अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क स्विफ्टबाट रूसी बैंकहरूलाई २०२२ मा निकालिएको थियो ।