पार्किङमा राखिएको विद्युतीय कार ईभीमा आगो लागी

सोमबार बिहान काठमाडौंको सितापाइलामा पार्किङमा राखिएको एक विद्युतीय कार (ईभी)मा आगो लाग्यो । गाडीबाट ठूलो परिमाणमा धुवाँको मुस्लो निस्किएको थियो । एक विज्ञप्ति जारी गर्दै कार निर्माता कम्पनीले अनधिकृत सर्भिस सेन्टरमा मर्मत सम्भार गरिएकाले प्राविधिक खराबी उत्पन्न भई गाडीमा आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

ईभी सम्बन्धी दुर्घटना यो नयाँ होइन । गत अक्टोबर १ मा भारतको बेङ्गलुरुमा बाटोमा र अमेरिकाको फ्लोरिडामा ग्यारेजमा राखिएको ईभीमा आगजनी भएको थियो । यसो त संसारभरको परिपाटीलाई हेर्दा ईभीमा आगजनीको घटना न्यून रहेपनि यस्ता घटनाले तुलनात्मक रूपमा बढी चर्चा पाउने गर्छन् ।

विभिन्न ब्राण्डका ईभीमा आगलागीको घटना सार्वजनिक हुने गरे तापनि ईभी आगलागीको घटनाको ठोस कारण दिन सकिँदैन । सामान्यतः ईभी ब्याट्रीमा 'हाई इनर्जी डेन्सिटी' (High Energy Density) हुन्छ, अर्थात् यसले सानो ठाउँमा धेरै इनर्जी भण्डार गर्नुपर्ने हुन्छ । जसका कारण ब्याट्रीमा कुनै समस्या आउँदा यसबाट 'सर्ट सर्किट' भई 'थर्मल रनवे' नामक चेन रियाक्सन भई आगजनीको जोखिम बढ्न जान्छ ।

ईभीमा हुने आगलागीलाई विशेषगरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । पहिलो 'इग्निसन फायर' (Ignition fire) र दोस्रो भ्यापर क्लाउड एक्स्प्लोजन (Vapour cloud explosion) । सर्ट सर्किटका कारण ब्याट्री सेल्समा पर्ने दबाबको कारण कुनै एक दिशामा लाग्ने आगो इग्निसन फायर हो भने ब्याट्री अथवा अन्य कुनै स्रोतबाट प्रज्वलनशील ग्यासहरूको चुवाहट भई लाग्ने आगोलाई भ्यापर क्लाउड एक्स्प्लोजन भन्ने गरिन्छ ।

इग्निसन फायरको तुलनामा भ्यापर क्लाउड एक्स्प्लोजन बढी घातक मानिन्छ । तर अधिकांश समयमा ईभीमा हुने आगजनी इग्निसन फायर रहने गरेको भेटिएको छ । दुर्घटनाको कारण ईभीमा हुने भौतिक क्षति, म्यानुफ्याक्चरिङ्ग डिफेक्ट, ईभी मर्मतको समय, अधिकतम तापक्रम लगायतका कारण ईभीमा आगो लाग्ने जोखिम बढ्ने जानकारहरू बताउँछन् ।

‘ईभी फायर सेफ’ नामक एक अस्ट्रेलियन कम्पनीको एक अध्ययनका अनुसार ईभी आगलागीका कारणहरू अज्ञात कारणले ४८.२५ प्रतिशत ठक्करका कारण २३ प्रतिशत उपकरण निर्माता (OEM) त्रुटिहरूका कारण ११ प्रतिशत, डुबानका कारण, ६ प्रतिशत बाह्य आगलागीका कारण चार प्रतिशत, बाह्य आगजनीका कारण तीन प्रतिशत, मर्मत/कार्यशालासँग सम्बन्धित कारण दुई प्रतिशत, मर्मत समयमा दुई प्रतिशत, बढी तापक्रमका कारण दुई प्रतिशत, निर्माण त्रुटिका कारण ०.५ प्रतिशत र मानव त्रुटिका कारण ०.२५ प्रतिशत रहेको छ ।

यस्ता छन् जोखिम न्युनीकरणका उपाय :

ईभी लाग्ने सक्ने आगोको जोखिम न्यूनीकरणको निम्ति गाडी उत्पादक कम्पनी, सवारीधनी, वितरक तथा नियामक निकाय सबैको संयुक्त प्रयास आवश्यक पर्ने गर्छ । विभिन्न पक्षबाट यसको जोखिमलाई न्यूनीकरण गर्ने केही उपायहरू यस अनुरूप हुन सक्छन् :

  • ब्याट्री डिजाइन र उत्पादनमा सुधार: सम्भावित आगलागीको जोखिमलाई न्यूनीकरण गर्नका लागि गाडी उत्पादक कम्पनीहरूले ब्याट्री डिजाइन र उत्पादनलाई सुधारात्मक बनाउँदै लैजानु पर्ने हुन्छ । अत्याधुनिक ब्याट्री म्यानेजमेन्ट सिस्टम मार्फत तापक्रम, भोल्टेज र करेन्टको नियमन गर्ने र ओभर चार्ज, डिप चार्ज र ईभीलाई उच्च तापक्रममा पुग्न नदिन थप पहल गरिनुपर्छ । सवारी धनीले पनि लगानी पूर्व ब्याट्री म्यानेजमेन्ट सिस्टमबारे राम्रो अध्ययन गर्नु फलदायी हुन्छ । यसका साथै थर्मल म्यानेजमेन्टका लागि प्रभावकारी कुलिङ सिस्टम जडान गर्नमा निर्माताको ध्यान हुनु पर्ने देखिन्छ।

  • ब्याट्री केस: दुर्घटनाको समयमा ब्याट्रीलाई सुरक्षित राख्न सुरक्षित केस डिजाइन पनि सम्भावित जोखिम न्यूनीकरणको एक माध्यम बन्न सक्छ । यसमा उत्पादक कम्पनीहरूको नै भूमिका ठूलो हुन जान्छ।

  • उचित चार्जिङ अभ्यास: ईभीमा आगलागीको सम्भावित जोखिमलाई घटाउन चार्जिङ अभ्यास पनि एक प्रभावकारी माध्यम हुनसक्छ । अनधिकृत चार्जर वा क्षति पुगेका चार्जरबाट चार्ज नगर्ने, लामो समयसम्म ब्याट्रीलाई चार्जमा नराख्ने किसिमका अभ्यास सवारीधनीले गर्नु पर्ने हुन्छ । ब्याट्रीलाई सकेसम्म डिप डिस्चार्जको अवस्थामा पुर्‍याउनु हुँदैन । यसो गर्नाले ब्याट्रीमा थर्मल स्ट्रेस बढी आगलागीको जोखिम बढ्न सक्छ ।

  • मर्मत सम्भार: ईभीको मर्मत सम्भार वितरकले तोकेको आधिकारिक सर्भिस सेन्टरमा मात्र गराउने अभ्यासले पनि आगलागीको जोखिमलाई न्यूनीकरण गर्नमा मद्दत पुर्‍याउँछ ।

  • अप्रज्वलनशील वस्तुको प्रयोग: ब्याट्री केस र गाडीको इन्टोरियरमा अप्रज्वलनशील वस्तुहरूको प्रयोग गर्दा पनि आगलागीको जोखिम घट्न सक्छ।