पोखरामा भएकाे तनावले कुनै प्रभाव परेको छैन : महानगर

आफ्नो सभापति रवि लामिछानेलाई संगठित अपराध, सहकारी ठगी र कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा प्रदर्शन जारी राखेको छ । 

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएकै दिन गएको शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई पक्राउ गरेको थियो । सोही दिन नै उनलाई काठमाडौँबाट पोखरा लगियो । लामिछाने पक्राउ परेसँगै पोखरामा रिहाइको माग राखेर रास्वपाले प्रदर्शन जारी राखेको छ । 

जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाका कार्यकर्ताले पनि प्रदर्शन जारी राखेका छन् । 

रास्वपाका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सीदेखि प्रदर्शन मथ्थर पार्न पानी फोहोरासमेत प्रयोग गरिएको छ । देशभरबाट  रास्वपाका कार्यकर्ता पोखरा पुगेर प्रदर्शन गरेका छन् । त्यहाँको सवारी आवागमनदेखि दैनिक जीवनलाई प्रभावित तुल्याएको छ । 

तर, पोखरा महानगरपालिकाले भने रास्वपाको आन्दोलनले कुनै प्रभाव नपारेको जनाएको छ । महानगरबाट प्रवाह हुने सेवा र विकास निर्माणका कार्यमा रास्वपाको प्रदर्शनले प्रभाव नपारेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले वडापालिकालाई जानकारी दिए । 

‘रास्वपाको आन्दोलनका कारण महानगरबाट हुने सेवा प्रवाह र विकास निर्माण कार्यमा असर गरेको भन्ने रिपोर्टिङ भएको छैन,’ उनले भने, ‘प्रदर्शन कारण सेवा प्रवाह र सेवा लिन असर गरेको भन्ने सेवाग्राही र कर्मचारीबाट कुनै गुनासो आएको छैन ।