इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. को अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. सिद्धार्थनगर- ९. भैरहवा, रुपन्देहीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरण आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट रेग्मी मिडिया इक प्रा. लि. लाई २०७१/०६/२३ मा प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १-७६) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/०६/२३ गतेदेखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।