पहिलो मानवयुक्त बेलुन फ्लाइटको को-पाइलट बन्दै रिचर्ड ब्रान्सन

काठमाडौँ,६ कात्तिक : भर्जिन ग्यालेक्टिकका संस्थापक रिचर्ड ब्रान्सनले सन् १९८७ मा एटलान्टिक र १९९१ मा प्रशान्त महासागर पार गर्ने ऐतिहासिक तातो-हावा बेलून यात्रा गरेका थिए। उनी अब फेरि यसैगरी तातो हावायुक्त बेलुनमा उड्न भएका छन्।

यसपटक उनले फ्लोरिडामा आधारित स्ट्राटोस्फेरिक बलूनिङ कम्पनी स्पेस पर्स्पेक्टिभ द्वारा पहिलो मानवसहितको मिशनमा सह-पाइलटको रूपमा यात्रा गर्नेछन्। यो मिशन सन् २०२५ मा हुने अपेक्षा गरिएको छ।

ब्रान्सनले १७  अक्टोबरको एक इमेल वक्तव्यमा भने, “मेरो जीवनका केही सबैभन्दा शानदार अनुभवहरू बलूनिङ अभियानहरूमा भएका छन्, र म स्पेस पर्स्पेक्टिभलाई यसको यात्रामा समर्थन गर्न उत्साहित छु।” उनले थपे, “मैले पुरानो बलूनिङ लाइसेन्स फेरि निकालेर केही अद्भूत परीक्षण उडानको तयारी गर्दैछु।”

ब्रान्सनले स्पेस पर्स्पेक्टिभमा लगानी पनि गरेका छन्, जसले अहिलेसम्म १००  मिलियन रकम उठाइसकेको छ। उनले भने, “म रोमाञ्चक यात्रा र उद्यमीहरूलाई आफ्नो व्यवसायिक सपना पूरा गर्न सहयोग गर्न निकै उत्साही छु।”

स्पेस पर्स्पेक्टिभको यात्राहरू भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको ब्लू ओरिजिनद्वारा प्रस्ताव गरिएका रकेट-शक्ति युक्त सबअर्बिटल उडानहरूभन्दा फरक हुने स्पेस डटकमले उल्लेख गरेको छ। स्पेस पर्स्पेक्टिभको प्रत्येक उडान लामो र शान्त हुने छ, हावाको औसत गतिको साथ यात्रा गर्दै लगभग ६ घण्टासम्म चल्नेछ।

नेप्च्युन नामक स्पेससिपलाई यात्रुलाई यस्तो लामो यात्रामा खुसी राख्न डिजाइन गरिएको छ। यसमा मानिसहरू हिँडडुल गर्न पर्याप्त ठाउँ हुनेछ, ठूला झ्यालहरू, बार र पूर्ण सुविधासम्पन्न बाथरूम पनि रहनेछ।

स्पेससिप नेप्च्युन स्पेस पर्स्पेक्टिभको विशाल हाइड्रोजन-भरिएको बलून र आठ-यात्री क्षमता भएको क्रू क्याप्सुल पृथ्वीको सतहबाट करिब २० माइल (३२ किलोमिटर) उचाइमा पुग्नेछ। यो उचाइ अन्तरिक्षको सिमानाभन्दा तल (५० देखि ६२ माइल) भए तापनि पृथ्वीको सुन्दर दृश्य हेर्न पर्याप्त उच्च रहेको कम्पनीको दावी छ।

रिचर्ड ब्रान्सनले यो अनुभवको तुलना आफ्नो सबअर्बिटल यात्रासँग गर्न पाउनेछन्, किनकि उनी जुलाई सन् २०२१ मा भर्जिन ग्यालेक्टिक भीएसएस स्पेस प्लेनमा चढेर अन्तरिक्षको सिमानामा पुगेका थिए।

स्पेस पर्स्पेक्टिभ कम्पनीले पर्यटकहरूलाई स्ट्राटोस्फियरसम्म पुर्‍याउन स्पेसशिप नेप्च्युन बलून प्रयोग गर्ने योजना बनाएको छ। यसमा हालसम्म११ हजार ८ सयभन्दा बढी व्यक्तिहरूले१ लाख २५ हजार डलर तिरेर आफ्नो सीट सुरक्षित गरेका छन्। तुलनाका लागिभर्जिन ग्यालेक्टिकले हाल ४ लाख ५० हजार प्रति सीट शुल्क लिने गर्दछ भने ब्लू ओरिजिनले अझै आफ्नो टिकटको मूल्य सार्वजनिक गरेको छैन।

स्पेस पर्स्पेक्टिभले गत महिना आफ्नो पहिलो पूर्ण परीक्षण उडान बिना क्रू रहेको एक्सेल्सियर नामक परीक्षण क्याप्सुल प्रयोग गरी सफलतापूर्वक सम्पन्न गर्‍यो जुन पर्यटकहरूको लागि हुने उडानकै मार्गमा गएको थियो।

आउँदो मानवसहितको उडानमा ब्रान्सनसँग स्पेस पर्स्पेक्टिभका सह-संस्थापकहरू तबेर म्याककोलुम र जेन पोइन्टर पनि सह-पाइलटको रूपमा सहभागी हुनेछन्। पोइन्टरले भनेकी छिन्, “बलूनिङ उद्योगमा रिचर्डको अग्रणी प्रयासले हामीलाई स्पेस पर्स्पेक्टिभ स्थापना गर्न प्रेरित गर्‍यो। हामी अब अन्वेषकहरूलाई पृथ्वीको सुन्दर दृश्यहरू बलूनमार्फत शान्तिपूर्ण र अद्वितीय तरिकामा देखाउन चाहन्छौं।”