१७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा चौकीका इन्चार्ज प्रहरी हवलदार थुनामा

काठमाडौँ,६ कात्तिक : पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा परेका छन् । 

पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन् । हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।”   

गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका छन् । हवलदार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयले प्रहरी हवलदार जोशीलाई महाकाली नदी तरेर भाग्दै गरेको अवस्थामा दाम्लोले बाँधेर प्रहरी चौकीमा बुझाएका थिए । 

प्रहरीले खोजी कार्य भइरहेको बताए पनि किशोरीको अवस्था अझै अज्ञात छ । आरोपित जोशीले असोज २५ गते बिहान किशोरीसँग भेट भएको स्वीकार गरे पनि त्यसपछिको अवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै बयान दिएका छन् तर किशोरीका आफन्तले भने किशोरी बेपत्तामा जोशीकै हात रहेको आरोप लगाउँदै आएका छन् । प्रहरी हवलदार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।  

प्रहरी हवलदार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी भर्न जान्छु भनेर हिँडेको र उतैबाट बेपत्ता भएको जोशीले प्रहरीसमक्ष बयान दिएका छन् । बेपत्ता किशोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली अहिले पनि पञ्चेश्वरलगायतका स्थानमा खटिएको छ । महाकाली नदी किनारलगायत सम्भावित स्थानमा खोजी गरिएको प्रहरीले जानकारी दिएको छ ।  

प्रहरी चौकी सानुपर्ने माग 

यसैबिच प्रहरी चौकीबाट गाउँमा असुरक्षा बढेको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले प्रहरी चौकी सार्नुपर्ने माग गरेका छन् । प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।  

स्थानीयले प्रहरी चौकी नचाहिने भनेपछि अहिले पञ्चेश्वर गाउँपालिका–२, महाकालीमा रहेको प्रहरी चौकीका प्रहरी पञ्चेश्वर गाउँपालिका–३, कुलाउ बजारमा बस्दै आएका छन् । महाकाली प्रहरी चौकीका लागि उपयुक्त स्थानको खोजी गरेर प्रहरी चौकी सार्ने विषयमा आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिनुभयो । 

किशोरी बेपत्तामा प्रहरीको संलग्नता रहेको स्थानीयले आरोप लगाएपछि प्रहरी चौकीमा कार्यरत सबै प्रहरी फेरिएका छन् । चौकी इन्चार्जसहित सबै प्रहरीलाई जिल्ला तानेर त्यहाँ प्रहरी सहायक निरीक्षक सुरतबहादुर साउदको नेतृत्वमा नयाँ टोली खटाएको बताइएको छ ।