माओवादीले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

 नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै यहि शनिबार खबरदारी सभा गर्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

त्यस्तै सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न उक्त सभाको आयोजना गर्न लागिएको जनाएको छ ।