जनता के चाहन्छन्, एमालेलाई थाहा छ : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन्।

 उनले लेखेका छन्

 

यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।

जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ ।