न्युजिल्याण्डलाई पहिलोपटक महिला विश्वकपको उपाधि

 न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ ।

युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो ।

न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले २७ बलमा सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १८ बलमा १७ तथा चालो ट्राइअनले १४ रन जोडिन् ।

न्युजिल्यान्डका लागि अमेलिया केर र रोजमेरी मेरले समान ३ तथा इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।

न्युजिल्यान्डकी अमेलिया केरले ३८ बलमा सर्वाधिक ४३, ब्रुकी हलिडेले २८ बलमा ३८ तथा सुजि बिटेसले ३१ बलमा ३२ रन जोडिन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट लिइन् ।