रविलाई जेल पठाउन स्वर्णिम सफल, अब रास्वपा विघटन कि विलय ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रविलाई विस्थापित गरी यस नवोदित राजनीतिक शक्तिमा हालीमुहाली गर्ने खेल जारी ५ । यस खेलमा माननीय स्वर्णिम वाग्लेको टिम केही हदसम्म सफल भएको छ । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएपछि रास्वपा झनै उत्ताउलो रुपमा प्रस्तुत भइरहेको छ । विगतमा अनुसन्धानलाई सघाउने भन्दै आएका रवि चुपचाप थुनामा गए । तर स्वर्णिम वाग्ले र मनीष झाहरुलाई यतिले पुगेको छैन । उनीहरु रवि र उनको पार्टीलाई उत्ताउलो रुपमा प्रस्तुत गर्न हर सम्भव प्रयास गरिरहेका छन् ।

स्वर्णिम र मनीषले रास्वपालाई सडकमा उतारेका छन् । अदालतका न्यायाधीशमाथि जथाभावी बोलेका छन् र बोल्न लगाएका छन् । अपराधको ढाकछोप गर्न पार्टी पंक्तिलाई प्रयोग गरेको सन्देश दिन हरसम्भव प्रयास गरिरहेका छन् । हिजो रविले संसदीय छानबिनबाट क्लिन चिट पाए भनेर सबैभन्दा चर्को स्वरमा यिनीहरुले नै भनिरहेका थिए । आज रविलाई पक्राउ गर्नुहुँदैन र उनी कानुनभन्दा माथि छन् भन्ने खालको हाँसोलाग्दो तर्क गरेर रास्वपाजस्तो नयाँ र युवा पार्टीलाई दुनियाँको नजरमा मूर्खहरुको झुण्ड सावित गर्न लागिपरहेका छन् ।

विगतमा स्वर्णिम र मनीषले रविको अधिक महिमा मण्डन गरेर उचाले । जेल पठाएपछि अब उनले बनाएको संगठनको साख ध्वस्त पार्न खोजिरहेका छन् । रास्वपालाई गगन थापाले पनि पुर्‍याउन नसकेको क्षति स्वर्णिम र मनीषले पुर्‍याइरहेका छन् । 

विगतमा नेपाली कांग्रेसमा यी दुवै जना गगन थापाकै सहयोगी थिए । गगनको राजनीतिमा सबैभन्दा ठूलो चुनौती रवि बनेर आएपछि गनका यी दुई प्यादा रास्वपामा प्रवेश गरे । रविलाई जसरी हुन्छ राजनीतिक रुपमा अप्ठ्यारो पार्ने गतिविधिमा सक्रिय भए । उनीहरुकै टिमका शिशिर खनाल संसदीय छानबिन समितिमा गए । खनालले पनि कांग्रेस–एमालेका सांसदहरुले जेजे भन्छन् त्यसैमा सही गरे । 

अहिले रविलाई सबैभन्दा ठूलो समस्या त्यही संसदीय समितिको प्रतिवेदनले पारेको छ । त्यहाँ लेखिएका कुरा होइन भन्ने अवस्था छैन । किनभने उक्त प्रतिवेदनका प्रत्येक अक्षरको स्वामित्व रास्वपाले लिइसकेको छ । एकातिर त्यसमा शिशिर खनालको सही छ । अर्कोतिर यो प्रतिवेदन ठीक छ र सत्य यही हो भनेर स्वर्णिमहरुको पंक्तिले भनेपछि रवि जेल जानु अवश्यम्भावी थियो । अब रविको बचाउमा रास्वपालाई प्रयोग गर्नु भनेको यस पार्टीलाई विघटन वा विलयमा लैजाने दाउ हो । सम्भवतः आउँदो चुनावअघि नै स्वर्णमिले यस पार्टीलाई कांग्रेसमा विलय गराउनेछन् । 

यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने मनका लड्डु चपाउँदै राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउँदै छन् । उता कांग्रेसले रास्वपालाई नै आफूमा समाहित गरेर झन् ठूलो शक्ति बनाउँदै छ । यदि रास्वपा कांग्रेसमा विलय भएन भने विघटनमा जानेछ । यसको नेतृत्व पनि स्वर्णिमले नै गर्दै छन् ।       

होइन भने अनुसन्धानका लागि नियन्त्रणमा मात्र लिइएका रविलाई अदालतले फैसला नै गरिसकेको जसरी कोकोहोलो मच्चाउनुपर्ने कुनै कारण छैन । कानुनी प्रक्रियामा कुनै पनि अनुसन्धानमा सहयोग गर्ने र अदालतमै कानुनी रुपमा प्रतिवाद गर्नुपर्ने हुन्छ । तर राजनीतिक प्रतिवादको बाटो रोज्नु भनेको भएको साख पनि माटोमा मिलाउनु हो ।