‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’को कमाइ कति, अग्रस्थानमा को ?

 दशैंको फूलपातीको अवसरमा तीन नेपाली चलचित्र ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आए । यी चलचित्र प्रदर्शन भएको १० दिन पुग्दा तीनै चलचित्रले राम्रो व्यापार गरेको देखिएको छ ।

यी तीन चलचित्रहरूको प्रदर्शनअघि असोज ३ गतेबाट प्रदर्शनमा आएको अशोक थापा निर्देशित ‘खुस्मा’, असोज ११ गतेबाट प्रदर्शनमा आएको’आँखा’ र ‘सानो संसार’लगायत चलचित्रहरु हलमा थिए । तर, भारी वर्षा र दर्शकको ध्यान दशैंको तयारीतर्फ मोडिएकाले यी चलचित्रहरुले खासै व्यापार गर्न सकेनन् । यस्तै, लगातारको वर्षाले सिर्जित विपत्तिलाई ध्यानमा राख्दै चलचित्र ‘आँखा’ र ‘सानो संसार’ले हलमा लागेको पत्तै भएन भन्ने स्थिति बन्यो । ‘सानो संसार’ले भने फेरि नयाँ प्रदर्शन मिति तोकेकाे छ ।

यस्तै, घटस्थापनाको दिनको अवसर पारेर असोज १७ गतेबाट रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ हलमा थिए । यसपछि असोज २४ गतेबाट ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आएका चलचित्र हुन् ।

प्रदर्शनअघि नै चर्चामा रहेको चलचित्र ‘छक्कापञ्जा–५’ लाई हलहरुले पहिलो प्राथमिकता दिएका थिए । छक्कापञ्जा सिरिजको पाँचौं संस्करण भएकाले पनि यसमा दर्शकको उत्साह उच्च थियो । अग्रिम टिकट बुकिङ खुलाउँदा तीन चलचित्रमध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा–५’ले पाएको थियो । ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ले करिब उस्तै उस्तै शो पाउँदा ‘छक्कापञ्जा–५’ले करिब करिब यी दुई सिनेमाले पाएको सो जति एक्लैले पाएको थियो ।

तर , विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गयो । दिन दुई/तीन चार शोका दरले ‘१२ गाउँ’का शो थपिँदै जाँदा प्रदर्शनको छैटौँ दिनमा आइपुग्दा मल्टिप्लेक्स चेनहरुमा यी दुवै चलचित्रले बराबर शो पाए । ‘ज्वाइँसाब’ले भने सुरुमा ‘१२ गाउँ’ बराबर नै शो पाए पनि पहिलो दिनबाटै दर्शक नआएपछि शो सर्लक्कै घट्यो । तर, रिलिजको तेस्रो दिनबाट भने भएका शाेमा विस्तारै अकुपेन्सी बढाउँदै आएको छ । सुरुवाती दिनमा कम शो पाएको ‘ज्वाइँसाब’ले समेत यतिबेला आफ्नो गति लिएको छ ।

छक्कापञ्जा ५ र १२ गाउँको धमाकेदार कमाई

शुरुवाती दिनदेखि नै दर्शकको भीड उम्लिएको ‘छक्का पञ्जा–५’ले अघिल्ला सिरिजहरूलाई पछि पार्दै १० दिनभित्र नै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

यता, अर्काे चलचित्र ‘१२ गाउँ’ पनि त्यत्तिकै लोकप्रिय रह्यो । समाज, संस्कृति, राजनीति र एक्सनप्रधान कथावस्तुका कारण यो चलचित्रले पनि ‘छक्कापञ्जा–५’ कै हाराहारीमा दर्शक तान्न सफल भएको छ । यस चलचित्रले पनि १० करोडभन्दा बढीको व्यापार गरेको जानकारी दिइएको छ । दर्शकले यो चलचित्रलाई खासगरी एक्सनप्रधान विषयवस्तुका कारण रुचाएका छन्, जसले नेपाली चलचित्रमा एक्सनप्रति दर्शकको आकर्षण अझै जिवित रहेको देखाएको छ । यस हिसाबले ‘छक्का पञ्जा–५’लाई दरो टक्कर दिइरहेको पुष्टि गर्छ ।

दुई ठूला ब्यानरका चलचित्रसँगै प्रतिस्पर्धामा आएको ‘ज्वाइँसाब’ शुरुवातमा कमजोर देखिएको थियो । यो चलचित्रले पहिलो हप्तामा थोरै मात्र व्यापार गर्यो । तर, चलचित्रलाई राम्रो समीक्षाहरु र दर्शकको सकारात्मक प्रतिक्रियाले बुस्ट दिएपछि यसले पनि दर्शकको ध्यान तान्न थालेको छ ।

अहिलेको अवस्थासम्ममा ‘ज्वाइँसाब’ले ३ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ, जसले दर्शकको माया जित्दै अघि बढिरहेको देखाउँछ। हलहरुले पनि यसको माग बढेसँगै शोहरुको संख्या बृद्धि गरेका छन्।