रवि प्रकरणले उदांगिएको न्याय प्रशासन– ७ न्यायाधीश भएको अदालतमा सबै गयल!

अदालतहरूले त्यसै पनि दसैँको लामो बिदा मनाउँछन्। नेपाल सरकारले दसैँको फूलपाती (सप्तमी) देखि द्वादशीसम्म गरी ५ दिन मात्र बिदा दिँदा अदालतहरूमा भने ढुक्कैले १५ दिन बिदा हुन्छ। घटस्थापनामा अदालतका ढोका बन्द गएर गएका कर्मचारी कोजाग्रत पूर्णिमापछि मात्र कार्यालय फर्किए हुन्छ।

कास्की जिल्ला अदालतका न्यायाधीशहरूलाई भने १५ दिनको बिदाले पनि पुगेन। अझ कास्कीमा त गण्डकी सरकारले हिजो (बिहीबार)  पनि बिदा दिएको थियो। त्यहाँ अदालतका न्यायाधीश तथा कर्मचारीले १६ दिनसम्म बिदा मनाउन पाए। कास्की जिल्ला अदालतमा सत्रौँ दिनमा पनि न्यायाधीश पाउन मुस्किल भयो। एक वा दुईजना मात्र न्यायाधीश भएको अदालतमा हो भने काबुबाहिरको परिस्थिति परेको मान्न सकिन्छ। तर, कास्की जिल्ला अदालतमा ७ जना न्यायाधीश कार्यरत छन्। जसमा एक नम्बर न्यायाधीश नवराज दाहाल छन्। त्यसपछि क्रमशः वरीयताअनुसार, न्यायाधीशहरू हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नीतिज राई कास्कीमा कार्यरत छन्।

७ जना न्यायाधीश भएको अदालतमा सबै बिदामा हुँदा कास्की जिल्ला अदालतबाट शुक्रबार पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरूद्ध पक्राउ अनुमति लिनै प्रहरीका लागि सकस भयो। पक्राउ अनुमतिका लागि प्रहरी टोली अदालतमा कुरेर बस्नुपरेको थियो। शुक्रबार भएकाले कामै नभई आधा दिनपछि कार्यालय नै बन्द हुने जोखिम उत्तिकै थियो।  

धन्न नेपालगन्जबाट पोखरा सोझै उडान रहेछ। दसैँ मनाउन नेपालगन्ज गएका न्यायाधीश कृष्णजंग शाहले पौने ११ बजेको उडानको टिकट लिए। पोखरास्थित जिल्ला अदालत पुग्दा झण्डै २ बजेको थियो। न्याय प्रशासनका अधिकारीहरूका अनुसार, सामान्यतः लामो बिदा हुँदा कुनै न कुनै न्यायाधीश अड्डामा उपलब्ध हुनुपर्छ र बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नुपर्छ। अड्डा नै खुलिसकेपछि त प्रत्येक न्यायाधीश हाजिर हुनैपर्ने हो।