रवि लामिछानेलाई गाडीमा लैजाँदा ठाउँ ठाउँमा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले गाडीमा राखेर पोखरा लगिँदैछ।

उनले प्रहरीलाई अनुरोध गरेपछि गाडीमै राखेर पोखरा लगिएको हो। अहिले उनीहरू धादिङको गजुरी पुगेको प्रहरीले जनाएको छ। उनलाई स्थलमार्गबाट पोखरा लगिएको हुँदा विभिन्न ठाउँमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।

जिल्ला प्रहरी कार्यालय धादिङका एक प्रहरी अधिकारीका अनुसार ठाउँठाउँमा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। त्यस्तै गल्छीमै प्रदर्शन समेत भएको थियो। त्यहाँ केहीबेर अवरोध भएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पन्छाएर अगाडि बढेको हो। प्रमोद न्यौपानेका अनुसार अहिले रवि लामिछानेसहित प्रहरीको टोली गजुरी पुगेका छन्। यस्तै मुग्लिनमा भेला भएर पोखरा जान लागेका र आसपासका व्यक्तिहरूलाई पनि प्रहरीले जुगेडामै रोकेको न्यौपानेले बताए। न्यौपाने लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए।