वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

दानमा प्राप्त सानेपाको जग्गामा केन्द्रीय कार्यालय ठड्याएको थियो, तर विश्वप्रकाशले बोले सफेद झुट

 

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय बनाउन सरकारवादी मुद्दाकै प्रतिवादीसँग करोडौँको जग्गा दान लिएपछि अहिले नेपाली राजनीतिक गर्माएको छ। भाटभटेनीका साहु मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गा एमालेको केन्द्रीय कार्याल निर्माण गर्न दान मात्र गरेका छैनन्, २०८२ को दसैंमा भवन पनि दिने बताएका छन्। यो जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङले असोज २५ गते शिलान्यास गरेका थिए। सत्तासिन दलले व्यवसायीबाट जग्गा दान लिएपछि नेपाली राजनीति गर्माएको मात्र छैन, राजनीतिक दलमाथि पारदर्शीताको प्रश्न उठिरहेको छ। नेपालमा कुनै दल यस्ता छैनन्, जसले व्यवसायी  वा अन्यबाट चन्दा नलिएका हुन्। एमालेले व्यवसायीबाट जग्गा दान लिएको विषयमा अभिव्यक्ति दिँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सफेद झुट बोलेका छन्।

https://barnanmedia.com/news/detail/199115/ 

जवाफदेहिताको कठघरामा बार अध्यक्ष घिमिरे 

 अन्ततः नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सर्वोच्च अदालतको कठघरामा उभिने भएका छन्। न्यायपरिषद्का निर्णय र न्याय परिषद् ऐन संशोधनको विरोध गर्ने निहुँमा अप्रामाणिक आरोप लगाउँदै हिँडेपछि उनी जवाफदेहिताको कठघरामा उभिनुपर्ने भएको हो ।  सर्वोच्च अदालतले बिहीबार अध्यक्ष घिमिरेसँग लिखित जवाफ पेस गर्न आदेश जारी गर्दै ७ दिनको म्याद दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासले दसैँ बिदा सकिएको पहिलो दिन नै पेसी सूचीको पहिलो नम्बरमा रहेको मु्द्दाको सुनुवाइ गर्दै  अध्यक्ष घिमिरेलाई बिहीबार अदालतको अवहेलना मुद्दामा ७ दिनको म्याद जारी गरी लिखित जवाफसहित उपस्थित हुन भनेको हो । उनलाई वारेसमार्फत पनि जवाफ पठाउन सक्ने छुट भने अदालतले दिएको छ ।

https://barnanmedia.com/news/detail/199150/ 

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति:उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म 

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्।  अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताउनुभयो।  प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएको जानकारी दिनुभयो।

https://barnanmedia.com/news/detail/199190/ 

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा विजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भन्नुभयो । उहाँले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टै गरी पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देश गर्नुभयो । उहाँले किसानहरुको बाली नालीको नोक्सानी भएको स्थितिमा उनीहरुलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरुको मर्मत आगामी जेठ १५ भित्र गरीसक्न आग्रह गर्नुभयो । 

https://barnanmedia.com/news/detail/199218/

पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध गरेको छैन 

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा छ, थाहा छ नि तिमीलाई?,’ रविले निकितलाई भने। जवाफमा निकिताले भनेकी छिन्, ‘थाहा छ।’ त्यसपछि उनी प्रहरीसँग आफ्नो चेम्बरबाट निस्किएका थिए। पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै उनले आफ्नै हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने दाबी पनि गरे।

https://barnanmedia.com/news/detail/199226/

सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जीबारे के भन्छ कास्की जिल्ला अदालत ?

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि कास्की जिल्ला अदालतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ ।  कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको बताए । ‘अहिलेसम्म यसबारेमा कुनै जानकारी छैन । पछि हुने कुरा पछि नै होला’, उनले रातोपाटीसँग भने ।  सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो 

सभापति रवि लामिछानेको सांसद पद के गलार्न त ? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछाने प्रतिनिधिसभा सदस्य हुन् । संविधानको धारा १०३ को उपधारा ६ मा प्रतिनिधि सभा सदस्य पक्राउ भएपछि तत्काल सदनको नेतृत्वकर्तालाई सूचना दिनुपर्ने व्यवस्था छ जहाँ भनिएको छ, ‘… कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने

दक्षिणी लेबनानमा ‘व्यापक विनाश’ भएको राष्ट्रसङ्घीय शान्ति सेनाको भनाइ 

हिजबुल्लाह विरुद्धको इजरायलको बढ्दो युद्धले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरेको त्यस क्षेत्रको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शुक्रबार बताएको छ । इजरायली सेनाले आफ्नो पोस्टमा बारम्बार आक्रमण गरे पनि शान्ति सेनाका सैनिकहरू त्यहाँ रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको युनिफिलका प्रवक्ताले बताएका छन् ।  “ब्लु लाइन वरपरको तनावले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरिरहेको छ, इजरायलतर्फ नागरिक क्षेत्रसहित रकेट प्रहार जारी छ”, लेबनानमा युनिफिलका प्रवक्ता आन्द्रेया टेनेन्टीले बेरुतबाट भिडियो लिङ्कमार्फत जेनेभामा आयोजित मिडिया ब्रिफिङमा भन्नुभयो, “ब्लु लाइन र त्यसभन्दा परका धेरै गाउँको विनाश र तहसनहस चकित पार्ने खालको छ ।

रवि लामिछाने हवाइमार्गबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिने” 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हवाइमार्गबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिएको छ।  शुक्रबार जिल्ला अदालत, कास्कीको अनुमतिमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेका उनलाई आजै पोखरा लान लागेको हो। रविलाई पोखरा लैजानका लागि प्रहरीले बुद्ध एयरको टिकट बुक गरिसकेको थियो। प्रहरी स्रोतका अनुसार, रविलाई पोखरा लैजान ९ वटा टिकट बुक समेत भएको थियो।  प्रहरीले सडकमार्गमा असुरक्षित हुने भन्दै रविलाई हवाइमार्फत जान आग्रह गरेको थियो।  बेलुकी ८ः२५ बजेको बुद्ध एयरको जहाजमा ९ वटा टिकट बुक भएपनि अन्तिममा रविले नमानेपछि स्थलमार्गबाटै लैगिँदै गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई पक्राउ 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पसनजिक पूर्वपश्चिम  राजमार्गमा हरिवन नगरपालिका –११, बस्ने अब्दुल साह फकिरका छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।  सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नम्बरको ६ चक्के मिनीट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुभयो । 

सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’ उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे । 

पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने भएको छ। केहीबेर अघिमात्रै पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेलाई आजै हवाइमार्ग हुँदै पोखरा लाने तयारी प्रहरीले गरेको हो। उनलाई बुद्ध एयरलाइन्समार्फत बेलुकी ८:२५ बजेको फ्लाइटमा पोखरा लान लागिएको हो। लामिछानेले भने आफूलाई गाडीमा लान आग्रह गरेका थिए। प्रहरी स्रोतका अनुसार, उनलाई पोखरा लानका लागि बुद्ध एयरलाइन्समा ९ वटा टिकट बुक गराइएको छ। 

फिल्म ‘छक्का पञ्जा ५’ काे एक सातामा कमाइ कति ? 

असाेज २४ गते फूलपातीको दिन रिलिज भएकाे फिल्म ‘छक्का पञ्जा ५’ ले हलमा दर्शकको राम्राे साथ पाइरहेको छ। फिल्मले एक सातामै कराैडाैंकाे व्यापार गरेकाे छ । वितरकका अनुसार ‘छक्का पञ्जा ५’ले बिहीबारसम्ममा ११ करोड ५० लाख रूपैयाँ कलेक्सन गरेको छ । दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभापति लामिछानेलाई पक्राउ गरेको हो । उनी पार्टी कार्यालयबाटै पक्राउ परेका हुन् । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरिएको हो । शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेलाई पक्राउ गरेर कास्की लगिएको छ । प्रहरीले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दा अनुसन्धान गरिरहेको छ ।