पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध गरेको छैन

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा छ, थाहा छ नि तिमीलाई?,’ रविले निकितलाई भने।

जवाफमा निकिताले भनेकी छिन्, ‘थाहा छ।’

त्यसपछि उनी प्रहरीसँग आफ्नो चेम्बरबाट निस्किएका थिए। पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै उनले आफ्नै हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने दाबी पनि गरे।

‘यो हातले आज यसमा हस्ताक्षर गरेको छ। यही हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्छ,’ लामिछानेले भने, ‘म बाँचे भनेँ, यिनीहरूले जिउँदो मलाई छाडे भनेँ यो हातले सब भ्रष्टाचारी जतिलाई जेल लानका लागि हस्ताक्षर गर्छ।’ रविलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।  उनलाई अहिले स्थलमार्ग हुँदै पोखरा लान लागिएको छ।