बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई पक्राउ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पसनजिक पूर्वपश्चिम  राजमार्गमा हरिवन नगरपालिका –११, बस्ने अब्दुल साह फकिरका छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नम्बरको ६ चक्के मिनीट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुभयो । 

प्रहरीले ट्रकचालक ईलामको सूर्योदय नगरपालिका –१, बस्ने ३७ वर्षीय जीतबहादुर राईलाई समेत नियन्त्रणमा लिएको छ । चालक राईले घटना स्वीकार गरिसकेका प्रहरीको भनाइ छ । राईलाई सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।