अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

गत साता अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो

दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घका एक सदस्यले बताएका छन्।

दूतावासको निर्णयपछि अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी सदस्य दुर्गाराज पाठकले बीबीसी न्यूज नेपालीलाई बताए।

एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई क्यानले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।