एभरेस्ट बैंकले रक्तदान कार्यक्रम गरि मनायो ३०औँ वार्षिकोत्सव

काठमाडौँ, २ कात्तिकः एभरेस्ट बैंक लिमिटेडले ३० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम गरिनुका साथै बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ । यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । 

३० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोड को आर्थिक सहयोग गरिएको छ भने उक्त कार्यक्रममा एभरेस्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान् कोइरालालाई उक्त चेक हस्तान्तरण गरे ।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पन्जाब नेशनल बैंक, भारतसँगको संयुक्त लगानीमा स्थापित बैंकका हाल करिब १४ लाख ग्राहक छन् । यस्तै बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटिएम रहेका छन् ।