लामो समयदेखि सुस्ताएको दोलखाको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङमा पर्यटकको चहलपहल

काठमाडौँ, २ कात्तिकः  लामो समयदेखि सुस्ताएको दोलखा जिल्लाको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेको छ । विदेशी पदयात्री मात्रै पुग्ने रोल्वालिङ क्षेत्र घुम्न आन्तरिक पर्यटक पनि जान थालेका छन् । पदयात्रामा रमाउने तन्नेरी पुस्ता यो क्षेत्रमा पुग्ने गरेका छन् । 

यो रोल्वालिङ क्षेत्र घुम्नका लागि उपयुक्त मौसम हो । रोल्वालिङ पदयात्रामा पर्यटकको चहलपहल बढेपछि बेदिङ र ना क्षेत्रका होटल व्यवसायी उत्साहित छन् । ५ देखि ७ दिनको पदयात्रा हुने यो पदमार्ग युवा पुस्ताको रोजाइमा परेको छ ।

गौरीशंकर–९ मा पर्ने च्छो–रोल्पा हिमताल र दूधकुण्ड युवा पुस्ताको पदयात्राको रोजाइमा परेको हो । रोल्वालिङ उपत्यकामा दैनिक २५ देखि ५० जनासम्म पदमार्गी हिँड्न थालेका छन् । गत असार २२ को बाढीले रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका ८ होटल बगाउनुका साथै दुई पुल बगाएको थियो ।

डोगाङमा पर्यटकका लागि बास बस्न टेन्टसहितका होटल सञ्चालनमा ल्याएको व्यवसायी दावाछिरिङ शेर्पाले बताए । ‘बाढीले पदमार्गका संरचनामा क्षति गरेपछि रोल्वालिङमा पर्यटक आउँदैनन् भन्ने लागेको थियो,’ उनले भने, ‘तर यो वर्ष सिजन सुरु भएसँगै रोल्वालिङ क्षेत्रमा विदेशीको बाक्लो चहलपहल छ ।’

सिजनको सुरुमै रोल्वालिङ पदयात्रामा ४ सयभन्दा बढी विदेशी पदयात्री पुगेको गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । यस वर्षको सिजनको सुरुवातमै गएको वर्षभन्दा धेरै विदेशी पर्यटक रोल्वालिङ क्षेत्रमा आएको शेर्पाले जनाए । धेरैजसो युवा पुस्ताको अन्तिम गन्तव्य ४ हजार ५ सय ८० मिटर उचाइमा रहेको च्छो–रोल्पा हुने गरेको छ । घुम्ने हुटहुटीले दसैंका बेला रोल्वालिङ पदमार्ग हुँदै च्छो–रोल्पा हिमताल पुगेको पर्यटक सुमन तामाङले बताए । यो क्षेत्र घुमेर हिमाल र हिमाली जनजीवन बुझ्न पाएको उनको भनाइ छ । ‘कतै पनि बासको चिन्ता नपर्ने र थोरै खर्चमा रोल्वालिङ पदमार्ग घुम्न सकिँदो रहेछ,’ उनले भने, ‘युवाका लागि घुम्न च्छो–रोल्पा निकै आकर्षकको गन्तव्य हो ।’

प्रशिक्षणका ६ हजार ४ सय मिटरमाथिको डोल्माखाङ हिमाल आरोहणका लागि जापानी समूह पुगेको उनले बताए । बाढीका कारण सुस्ताएको रोल्वालिङ क्षेत्रमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेपछि होटल व्यवसायीमा खुसीको सञ्चार भएको छ । चरिकोटदेखि बिगु गाउँपालिका–१ छ्योछ्योतसम्म सार्वजनिक यातायातबाट सडक यात्रा गरेर पुगिन्छ । त्यसपछि रोल्वालिङ पदमार्ग सुरु हुन्छ ।

gauri_2.jpg

पहिलो दिन हिँडेर सिमिगाउँ वा डोगाङमा बास बसेर भोलिपल्ट क्याल्चे, ठाङ्दिङमा हुँदै हिमाल आरोहीको गाउँको परिचय बनाएको बेदिङ पुगिन्छ । बेदिङमा पर्यटकलाई लक्ष्य गरेर साना–ठूला गरी डेढ दर्जन होटल छन् । बेदिङपछि तेस्रो दिन च्छो–रोल्पा पुगेर घुमाघाम गरी आन्तरिक पर्यटक ना गाउँमा बस्ने गरेको होटल व्यवसायी शेर्पाले जनाए ।

‘विगतमा धेरथोर विदेशी पर्यटक मात्रै यो पदमार्गमा आउने गरेका थिए,’ उनले भने, ‘अहिले नेपाली पनि घुम्न आउन थालेका छन्, होटल व्यवसाय राम्रो फस्टाएको छ ।’ वर्षमा ३ हजारदेखि ३५ सय आन्तरिक पर्यटक रोल्वालिङ उपत्यका घुम्न आउने गरेको शेर्पाको भनाइ छ । च्छो–रोल्पा हिमतालबाटै पदयात्रा गरेर दूधकुण्ड पुग्न पनि सकिने गौरीशंकर संरक्षण क्षेत्रकी पर्यटक सहायक याङ्टी शेर्पाले बताइन् ।