इन्स्पेक्टर र असई बन्न चाहनेले ७ दिनभित्र कागजात अद्यावधिक गर्नुपर्ने

काठमाडौँ, २ कात्तिकः प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरूले ७ दिनभित्र कागजातहरू अद्यावधिक गर्नुपर्ने भएको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ। 

प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्स्पेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरू मध्ये केहीको आवश्यक कागजातहरू समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो।

दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरूको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरू समावेश गर्न भनिएको छ। आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र पनि अद्यावधिक गरी पुन आवश्यक कागजात नपठाइए त्यस्ता फारमहरू स्वतः रद्द हुने सूचनामा उल्लेख छ।

२८ भदौमा इन्स्पेक्टर र असई भर्नाका लागि आवेदन खुलेको थियो।