नेपालगन्ज छिर्न खोज्दा २ भारतीयलाई गोली हानेर समातियो, के थियो घटना ?

काठमाडौँ, २ कात्तिकः भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ। बिहीबार नेपालगन्जको सीमा नजिक पर्ने हारा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो।

मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो।सुरुमा उनीहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ। प्रहरीले मिश्रको हत्यामा प्रयोग गरिएका हतियार बरामद गरिएको पनि बताएको छ।

यूपी स्पेसल टास्क फोर्स (एसटीएफ) प्रमुख अमिताभ यशका अनुसार, यस घटनामा हालसम्म पाँच जना पक्राउ परिसकेका छन्।

के हो घटना ?

अक्टोबर १३ मा दुर्गा पूजा विसर्जनका क्रममा बहराइचको महाराजगञ्जमा पूजास्थल बाहिर अर्को समुदायले चर्को स्वरमा गीत बजाएपछि हिंसा भड्किएको थियो। त्यस क्रममा २२ वर्षीय रामगोपाल मिश्रको गोली प्रहारबाट हत्या भएको थियो।

हिंसा भड्किएपछि तोडफोड र आगजनी भएको थियो।भिडले घर, पसल, अस्पतालसहित सवारीसाधनमा आगजनी गरेको थियो।

यस घटनामा प्रहरीले हालसम्म ५५ शंकास्पदलाई नियन्त्रणमा लिएको छ। यात्राका क्रममा ‘चाहे जितन जोर लगा लो, आएंगे फिर योगी जी’ गीत बजाउँदा तनाव बढेको बताइएको छ।