सभापति लामिछानेलाई पक्राउ गर्ने विषयमा पनि छलफल

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा शीर्ष तीन दलबिच छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरूको बैठकमा सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल भएको हो

बैठकमा सहकारी प्रकरणमा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी छानबिन समितिको प्रतिवेदनका विषयमा सामान्य कुरा राखेका थिए ।

‘सहकारीकै विषयमा त छलफल भएन, शीर्ष नेताहरू बसेको बेलामा कुरा त उठ्ने नै भयो,’ती नेताले मकालुखबरसँग भने,‘प्रतिवेदनले भने अनुसार नै कारबाही र कार्यान्वयन गर्नुपर्छ भन्ने मत सबैले राख्नुभयो ।’प्रधानमन्त्रीको सहकारीको प्रसङ्ग उठाएपछि बैठकमा सहभागी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।