आजबाट खुल्दै अदालत, बार–बेन्च द्वन्द्व के होला ?

दसैँको लामो बिदा (१५ दिन) पछि आज अदालत खुल्दै छ । दसैँ बिदाकै बीचमा देशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइ गरी नयाँ प्रधानन्यायाधीशका रुपमा प्रकाशमानसिंह राउतलाई पाएको छ । राउतले औपचारिकताका लागि असोज २० गते नै कार्यभार सम्हालेका भए पनि खास उनको नेतृत्वमा पूर्णकालीन कार्यसम्पादन आजबाट सुरु हुने भएको छ ।

उनको कार्यकालको पूर्ण फुल कोट (सबै न्यायाधीशहरुका बैठक) पनि आजै बस्दै छ । आजको बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णय एवं समझदारी जुटाउन सक्नेछ । बार–बेन्च सम्बन्ध, अदालतको दैनिक प्रशासन सञ्चालन, प्रधानन्यायाधीश राउतले संसदीय सुनुवाइ र कार्यभार सम्हालेपछि पत्रकार सम्मेलन गरी जनाएका प्रतिबद्धताका विषयमा छलफल हुन सक्ने सर्वोच्च अदालतका अधिकारीहरुले जानकारी दिए । 

के होला बार–बेन्च सम्बन्ध ? 

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका पालामा बार र बेन्चबीचको सम्बन्ध निकै तिक्ततापूर्ण रह्यो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नृपध्वज निरौलालाई रोक्न गोपाल पराजुलीको इशारामा काम गर्दा मर्यादाबाहिर गएर बोले । अप्रामाणिक कुरा बोलेपछि उनको बारभित्रैबाट आलोचना भइरहेको छ । 

बार अध्यक्षको अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले अवहेलनासम्बन्धी कारबाही अघि बढाएको छ । तर यहीबीचमा सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले उक्त मुद्दा फिर्ता लिन चाहेको भनी फेसबुकमा लेखेपछि प्रकरणमा नयाँ ट्विस्ट देखापरेको छ ।

तर, उनले आफ्ना हाकिमहरुलाई भने बार अध्यक्षको मुद्दालाई लिएर नभई राजकुमार तिमल्सिनाले तनाव दिएका कारण थप तनाव नबोकौँ कि भनेर त्यसो लेखेको बताएका छन् । तिमल्सिना सिधाकुरा प्रकरणका जन्मदाता हुन् । उनलाई सर्वोच्चले ६ महिनाको कैद सजाय तोकिसकेको छ भने जिल्ला अदालतमा साइबर क्राइमको मुद्दा विचाराधीन नै छ । 

बार पदाधिकारीहरुको कुरा बुझ्दा अध्यक्ष घिमिरेले नयाँ प्रधानन्यायाधीश राउतको अनुहारमा विश्वभरप्रसाद श्रेष्ठकै छाया देखिरहेका छन् । अझ श्रेष्ठभन्दा पनि राउत कडा अडानमा रहेको भन्दै उनलाई बारविरोधी भनेर चित्रित गरिँदै छ, वकिलहरुको माझमा । खासगरी न्याय परिषद् नियमावलीको गत वर्ष गरिएको संशोधनलाई लिएर बारले विरोध गरिरहेको छ ।

त्यसमा पुनरवलोकन हुन नसक्ने कुरामा न्याय परिषद् मात्र होइन, सिंगो फुलकोर्ट नै एकमत छ । कर्मचारीको साथ त छँदै छ, त्यसमा । त्यसकारण बारको यो माग पूरा हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा बारले विरोध गरिरहने र अदालत अघि बढिरहने अवस्था आउन सक्छ ।

कतिपयका बुझाइमा बारले न्यायाधीश नियुक्तिमा अत्तो थाप्न मात्र विविध मुद्दा उठाएको हो । बार नेतृत्वले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउँदा नआएपछि उनलाई काम गर्न नदिने, उनका पालामा नियुक्ति हुन नदिने र उनको अवकाश कुर्ने रणनीति लिएको देखिँदै छ ।

रामप्रसाद श्रेष्ठको पदावधि आउँदो मंसिर १५ गते सकिँदै छ । उनी घर गएपछि त्यस ठाउँमा बारले नयाँ मान्छे पठाउनेछ । बारबाट अब न्याय परिषद्मा जाने व्यक्ति गोपाल पराजुली ब्लकको प्रतिनिधि हुनेछन् ।

न्याय परिषद्मा पराजुली गुटको पनि प्रतिनिधित्व भएपछि बार–बेन्च द्वन्द्व त्यसै साम्य भएर जाने कतिपयको आकलन छ । तर, त्यसअघि बार अध्यक्ष घिमिरेलाई इजलासमा उभ्याएर बयान भने लिएरै छाड्ने मुडमा अदालत देखिएको छ ।