पर्वमा बिदैबिदा, जनताका मर्का कस्ले बुझ्ने ?

लामो दशैंविबदा सकिएर आजदेखि न्यायालयका सेवा सुरु हुने

काठमाण्डौंः १ कात्तिक : लामो दशैंविबदा सकिएर आजदेखि न्यायालयका सेवा सुरु हुने भएतापनि कात्तिकमा समेत तिहार, छठ, नेपाल सम्बत् र फाल्गुनन्द जयन्ती जस्ता पर्वहरु परेकाले कात्तिक महिनामा समेत धेरै दिन सरकारी बिदा परेको छन् । 

असोजमा १६ दिन अदालत संचालन भएकामा कात्तिकमा भने १९ दिन अदालत संचालनमा आउनेछन् ।  लामालामा बिदाका कारण न्यायालयका सेवाहरु प्रभावित भएका छन् । लामालामा बिदा परेका कारण न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरु लामालामा टुरमा निस्कने र फर्कन समय लाग्ने भएपछि मुद्दा स्थगित हुने, हेर्न नभ्याइने र सार्ने परिपाटीको त कुरै गरिसाध्य छैन । न्यायालयको सेवा मोजमस्तीमा चल्ने सेवा जस्तो बन्न गएको छ । 

दशैंबिदाभरी बन्दीप्रत्यक्षीकरणका केही दर्जन मुद्दाको सुनुवाई गरेको सर्वाेच्च अदालतले विहिबार र शुक्रबार साप्ताहिक र दैनिक पुरक पेशी सूचिमा मुद्दाहरु प्रकाशित गरेको छ । 

साप्ताहिक दैनिक सूचि बमोजिम बिहिबारका लागि १ सय ४५ वटा नियमित मुद्दा र २ वटा पुरक सूचिका मुद्दाको सूचि प्रकाशित भएको छ भने शुक्रबारका लागि ३ सय ३० वटा साप्ताहिकका मुद्दा र ४७ वटा दैनिक पुरक सूचिका मुद्दा गरी जम्मा ३ सय ७७ वटा मुद्दा पेशीमा चढेका छन् । 

सर्वाेच्च अदालतमा न्यायाधीशको संख्या कम हुंदैजादा मुद्दाको संख्या भने थपिंदै गर्दा मुद्दाको व्यवस्थापन र समयको व्यवस्थापन हुन नसकेको कानुनविद्हरुको टिप्पणी हुने गरेको छ । प्रयाप्त संख्यामा न्यायाधीश नरहंदा मुद्दाहरु कम तोकिने गर्दा सेवाग्राही र कानुन व्यवसायी, कर्मचारी तथा न्यायाधीश सबैलाई हैरानी कम हुने उनीहरुको विश्लेषण छ ।

लामो दशैंबिदाबाट अदालत नियमित काममा फर्किएसंगै न्यायाधीश प्रकाश कुमार ढुंगानाले अनिवार्य अवकाश लिनुपर्ने भएपछि सर्वाेच्च अदालतमा कात्तिक ४ देखि पुनः चारै पद रिक्त हुने छन् । 

दशैंको लामो विदाको सदुपयोग गरी विदेश भ्रमणका गएका न्यायाधीशहरु समेत फर्किहाल्ने अवस्था कम भएकाले पनि अदालतको सेवा तत्कालै सम्पूर्ण रुपमा सुरु भईहाल्न कठिनाई रहेको पनि शुत्रहरुको दावी छ ।

पैसठ्ठी बर्षे उमेर हद्का कारण ढुंगानाले कात्तिक ४ गते सर्वाेच्च अदालतबाट अवकाश पाउनेछन् । ढुंगाना पनि त्यस्ता भाग्यमानी व्यक्ति हुन जो पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको साला नाताका व्यक्ति हुन र उनी न्यायपरिषद्को सचिवबाट उच्च अदालतको न्यायाधीश हुंदै मुख्य न्यायाधीश, र सर्वाेच्चको न्यायाधीश बन्ने सौभाग्य पाएका व्यक्ति हुन् । पछिल्लो कालमा सर्वाेच्च अदालत नातावाद, कृपावाद र फरियावादको चरम नमूना बन्न गएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले केहीदिन अघि न्यायालयको बागडोर सम्हालेपनि खाली पदमा नियुक्ति सुरु नगर्दै पुनः न्यायाधीशहरु अवकाशमा गईरहेका छन् । 

उच्च अदालतका दुई मुख्यन्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वाेच्चको न्यायाधीशमा सिफारिस भएतापनि उनीहरुले संसदीय सुनुवाई भई काम थाल्न केही समय लाग्नेभएकाले सर्वाेच्च अदालतमा छवटा इजलास लाग्न नसक्ने भएकाले न्यायसम्पादनमा समस्या देखापरेको छ ।

अदालतहरुमा पर्वहरुका लामालामा बिदा, कानुन दिवसको बिदा, आकस्मिक रुपमा पर्न आउने न्यायाधीश र पूर्व न्यायाधीशको मृत्यमा हुने शोक बिदा, आर्थिक बर्षको सुरुवातीमा हुने बिदाबाट सेवाग्राही आजित भैसकेका छन् । अदालतको आन्तरिक प्राविधक पाटो मिलाउने जिम्मा राज्यको, तर लामालामा बिदाले जनता मर्कामा परेको राज्यले कहिले सुन्ने हो ।