एमाले कार्यालय बनाउन व्यापारीबाट जग्गा दान लिएपछि विवादमा फसेका प्रधानमन्त्री ओलीले कसलाई दिए दुई तिहाईको धम्की?

दसैंको मुखैमा आएको बाढीपहिरोले नागरिक त्राहिम थिए। काठमाडौं उपत्यकासहित मध्य नेपाल केन्द्रित बाढीपहिरोले हजारौँ नागरिक घरबारविहीन भएको र मुख्यराजमार्ग नै अवरुद्ध बनेपछि आधा महिना जनजीवन निकै कष्टकर बन्यो। अहिले पनि अवस्था फेरिएको छैन।

दसैं विदासँग यी विषय ओझेलमा परे। तर, दसैं विदाको छेक पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले अनौँठो चाल चले।  दसैंको अघिल्लो दिन गत शुक्रबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी दान गरे। त्यही दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा भवनको शिलान्यास गरेपछि सार्वजनिक आलोचना भएको छ।

सरकारको नेतृत्व गरिरहेको पार्टीको केन्द्रीय कार्यालय अदालतबाट भ्रष्टाचार र करछलि मुद्दामा अदालतबाट दोषी ठहर रहेको कैद भुक्तान गर्न बाँकी व्यापारीले बनाउने विषयमा सर्वत्र आलोचना सुरु भएको छ। दसैं विदामा यो विषय ओझेलमा परे पनि अहिले मिडियादेखि दलका नेताहरुलेसमेत आलोचना गर्न थालेका छन्।

रास्वपाले त संसदको विशेष अधिवेशन डाक्न मागसमेत गरेको छ।

एमालेमा शक्तिशाली अध्यक्ष रहेका ओलीको यो कदमविरुद्ध पार्टी भित्रैबाट आलोचना हुन थालेको छ भने सत्ता साझेदार कांग्रेसका नेताहरुले पनि आलोचना गर्न थालेका छन्। प्रतिपक्ष दलले आलोचना गर्ने त भइहाले नै। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले पार्टी कार्यालय गुरुङले बनाउनेबारे गम्भीर प्रश्न उठेको र प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन्।

तीव्र आलोचना पछि एमालेले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएका छन्। ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ,’ गौतमको दाबी छ, ‘अन्तर्मनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन।’
 

बाढीपहिरोमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको दल अर्काे विवादमा फसेपछि राजनीति बजारमा अनेकथरी चर्चा भइरहेका छन्। कतिपयले अब कांग्रेस र एमालेबीचको सहकार्य टुट्नसक्ने बताइरहेका छन्।

यसरी आलोचना भएपछि प्रधानमन्त्री ओलीले भने ‘सरकार लगभग दुई तिहाईको भन्ने हेक्का रहोस्, खरानीको डल्लो होइन’भन्दै कडा धम्की दिएका छन्।

एमाले र कांग्रेस गठबन्धनको सरकार परिवर्तनको कुरामा कुनै सत्यता नरहेको बताउँदै उनले एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि आग्रह गरे।

प्रहरी दिवसमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन। एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो।’