इन्धन ट्याङ्कर विस्फोटमा सय भन्दा बढीको मृत्यु

उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय भन्दा बढीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० भन्दा बढी घाइते भएको प्रहरीले बुधबार बताएको छ ।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । आदमले माजिया सहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिए । दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए । 

नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षहरूमा जान आग्रह गरेको छ । इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ । राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।

नाइजेरियामा खतरनाक सडकहरूः

देशमा ट्याङ्करहरू संलग्न दुर्घटनाहरू बारम्बार हुने गर्छन् । सङ्घीय सडक सुरक्षा आयोग (एफआरएससी) ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ, जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो ।गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो ।     एफआरएससीका अनुसार सन् २०२३ मा नाइजेरियामा सडक दुर्घटनामा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष लगभग छ हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

यद्यपि विश्व स्वास्थ्य सङ्गठनका अनुसार यी आँकडाहरूमा अधिकारीहरूलाई रिपोर्ट नगरिएका दुर्घटनाहरू समावेश छैनन् । गत वर्ष प्रकाशित एक प्रतिवेदनमा नाइजेरियामा वार्षिक सडक दुर्घटना मृत्यु सङ्ख्या ४० हजारको नजिक रहेको अनुमान गरिएको उल्लेख छ । महाद्वीपका सबैभन्दा ठूला कच्चा तेल उत्पादकहरू मध्ये एक नाइजेरियाको इन्धन र तेल पूर्वाधारमा घातक आगलागी र विस्फोटहरू पनि हुने गर्छन् ।