ओली सरकारको तीन महिनाः के छ रास्वपाको मूल्यांकन ?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन महिनाको अवधिमा केपी शर्मा ओली नेतृत्वको सरकारले घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको निष्कर्ष निकालेको छ । 
कार्यबाहक प्रवक्ता मनीष झाले बुधबार जारी गरेको विज्ञप्तिमा विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको ठहर गरिएको छ । 

‘सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुख्य उद्देश्य सहित असार ३१, २०८१ मा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एकसय दिन पूरा गर्दै छ । तीन महिना पूर्ण मूल्यांकनको आधार त होइन तर घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ यसबीचमा सरकारले प्रारम्भिक संकेतसम्म देखाउन सकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ ।’

 मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको रास्वपाको भनाइ छ । 

आज आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको समेत रास्वपाको जिकिर छ । ‘सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका छन् ’, विज्ञप्तिमा भनिएको छ, ‘आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिन्छ ।’ सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएको रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ।