धर्मशालाका अनधिकृत संरचना जुनसुकै बेला भत्काउँछौँ काठमाडौँ महानगरपालिकाको चुनौती

पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेका काठमाडौँ महानगरपालिकाका दुईवटा डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले सरकारसँग जवाफ माग गरेको छ। 

बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे। 

‘त्यो देवभूमिको क्षेत्रमा कुनै पनि हिसाबले पशुपतिनाथले नै नचाहेको गतिविधि गर्न पाइँदैन। ती संरचना हटाउन महानगरपालिका कटिबद्ध रूपमा लागिरहेको छ,’ शाहले बुधबार साँझ नेपालखबरसँग भने, ‘प्रशासन सकारात्मक देखिन्छ। तर, माथि जब कुरा पुग्छ, त्यहाँको नेतृत्वले पशुपतिनाथको महत्त्व जुन छ, त्यो रोक्न खोजिरहेको छ।’

साथै, उनले महानगरपालिकाले डोजर नियन्त्रणमा लिएको घटनालाई गम्भीर रूपमा लिएको र उक्त कार्य भर्त्सनायोग्य रहेको बताए। 

‘नियन्त्रणमा लिएर अगाडि बढाउन दिनुभएन। यसको महानगरपालिकाले घोर भर्त्सना गर्छ। उहाँहरूले जसलाई कानुन अनुसार सुरक्षा दिनुपर्ने हो, त्यो नगरेर अमुक एउटा समितिलाई बचाइराख्नुभएको छ। यो कसका लागि, कसका फाइदाका लागि हो, यो विषय गम्भीर रूपमा उठेको छ। सरकारले यसको जवाफ दिनुपर्छ,’ शाहले भने।