‘कोजगरा के पहिचानः दूध, मखान आपान’

काठमाडौँ, ३० असोज : कोजगरा (कोजाग्रत) पूर्णिमा  भन्नासाथ प्रत्येक मैथिल (मिथिला)का बासिन्दा दूध, मखान र पान सम्झन्छन् । असोज पूर्णिमाको रातमा मनाइने यो पर्वको विशिष्ट परिकार दूध÷मखान र पान हुने गरेको छ । मिथिलाको बोलिचालीमा ‘कोजगरा’ भनिने कोजाग्रत पूर्णिमा पर्व आज मनाइँदैछ ।

मिथिला परम्परामा प्रत्येक पर्वका विशिष्ट परिकार हुन्छन् । दशहराको दहीचिउरा, दीपावलीको घुरियालो (सेल) छठको ठकुवा (गहुँको पिठोमा सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार), तिलासक्रायत (माघे सङ्क्रान्ति)मा तील, मुरी र चिउराका (लड्डू), होलीको मालपुवा, जुडशीतलमा बरीकरी, चौरचनमा पुरी, खिर र घडी पर्वमा दालपुरीको विशेष महत्त्व हुने गर्छ । यसैगरी कोजगरा पर्वको विशिष्टता दूध÷मखान र पान हो ।

बर्दिबास–७ प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामसेवक महतो भन्नुहुन्छ, “हाम्रा परम्पराभित्रका विभिन्न पर्वसँग जोडिएका विशिष्ट परिकार झैँ कोजगरामा दूध÷मखान र पान जोडिएको छ ।” सोही गाउँका ७० वर्षीय गङ्गा यादवले कोजाग्रतको पहिचानबारे स्पष्ट पार्दै आफ्नै बोलिचालीको मैथिली भाषामा भन्नुभयो, “‘कोेजगराके पहिचानः दूध, मखान आ पान ।”  

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिने यस पर्वमा देवीलाई चढाइने मुख्य सामग्री पनि दूध, मखान र पान नै हुन् । देवीलाई चढाउन चोखोनितो सामग्री पर सारेर मैथिल परिवारमा दिउँसैदेखि दूध÷मखान र पान खाने  चलन छ । जाडो सुरु हुनै लागेका बेला पौष्टिक आहारमा सबैलाई सचेत गराउन दूध÷मखान खाने परम्परा यस पर्वमा बसाइएको हुनसक्ने पेसाले स्वास्थ्यकर्मी बर्दिबास–१२ का गिरेन्द्रकुमार झा बताउनुहुन्छ । मखान पुष्टिवर्धक फल भएको हुँदा जाडो मौसमभर यसको सेवनले स्वस्थ रहन मद्दत पुग्ने झाको भनाइ छ ।

मिथिलामा मखान र पान दुवै सौन्दर्यको प्रतीक मानिने परम्पराले कोजगराका विशिष्ट परिकार बनेको पाका मैथिलको धारणा छ । पर्वमा देवी महालक्ष्मीलाई प्रसन्न तुल्याउन आज साँझ घरघरै दीप प्रज्वलित गरिएका छन् ।

यहाँका बर्दिवास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहार पट्टीसहितका बजारमा मखान बेच्ने, किन्नेको भीड छ ।

पान र मखान दुवै सम्पन्नता र सौन्दर्यको प्रतीक मानिने प्रचलनले यसको महत्त्व कोजाग्रतमा बढेको मटिहानीस्थित याज्ञवलक्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।

कोजाग्रत पर्वमा कहिल्यै पान नखाएकाले पनि विधिकै लागि खाने गरेका छन् । कोजगराको रात जाग्राम बस्ने र भेटघाटका लागि आउने अतिथिलाई दूध÷मखान र पान खान दिइन्छ । जाग्राम बस्नेले महालक्ष्मी दीप प्रज्वलित गरी आपूmलाई जागै रहेर पर्खी बसेकाहरुको घरमा प्रवेश गर्ने र धनधान्यले पूर्ण गरिदिने धार्मिक विश्वास रहेको पूर्वप्रशासक जलेश्वर–४ सुगाका ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ ।