पाटन प्रिमियर लिग सुरू : मन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ, ३० असोज :  यहाँको पाटनमा आजदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताउनुभयो । 

मन्त्री भण्डारीले भन्नुभयो, “खेलका माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ । सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । खेलमैदान बनाउन सरकार सक्रिय छ ।” बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएको र यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यसका साथै मन्त्री भण्डारीले राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेका बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेर सरकार बनाएका हौँ । बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छाैं । निरासालाई आशा र भरोसाका बदल्न सरकार लागेको छ ।”

पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय पुरस्कारमा ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 

यसैगरी म्यान अफ द सिरजबापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।