पक्राउ पुर्जी जारी भएपछि इन्सपेक्टर शाही फरार, ४ जना नियन्त्रणमा

‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिएको छ।

घटना सार्वजनिक भएपछि गठित छानबिन समितिले शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए। 

‘समितिले दसैँअघि नै प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन तालुक निकायमा पठाइसकेका छौँ। उक्त प्रतिवेदनकै आधारमा प्रहरी सहायक हवल्दार पक्राउ परिसकेका छन्। इन्सपेक्टरको हकमा पनि समितिको सिफारिस कार्यन्वयन हुन्छ। प्रक्रिया अगाडि बढिसकेको छ,’ एसएसपी खनालले नेपालखबरसँग भने। 

प्रहरी निरीक्षक शाही र उनका सवारी चालक हमाललाई निलम्बन गरिसकिएको छ। हमाललाई पक्राउ गरेर गत शुक्रबार नै हिरासतमा राखिएको छ। इन्सपेक्टर शाहीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ।