दीपक-दिपाको एकल राजमा हाबी भए विराज भट्ट, ‘१२ गाउँ’सँगै एक्सन फिल्मका दिन आएका हुन् ?

नेपालका हलहरुमा फूलपाती अर्थात् २४ असोजदेखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा छन्। ती तीन चलचित्र हुन् ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाईँसाव’।
दीपकराज गिरी र दीपाश्री निरौलाको छक्कापञ्जा पछिल्लो ५ वर्षदेखि नेपाली सिनेमामा एकछत्र राज गरिरहेकाे थियाे। त्यहीँ भएर यो समूहले छक्कापञ्जाको सिरिज नै चलायो, प्रदर्शनको मिति पनि जहिल्यै फूलपाती। 

तर, यसपटक दीपक र दीपाको राजमा विराज भट्ट हावी भएका छन्।

कुनै बेला छक्कापञ्जा समूहमै रहेका जितु नेपालले ज्वाईँसाव ल्याएका छन्। तर, उनको यो फिल्मले छक्कापञ्जालाई खासै टक्कर दिन सकेको छैन। तर, विराज भट्टको १२गाउँ भने छक्कापञ्जामाथि भारी परेको छ। 
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ। सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिँदा ‘१२ गाउँ’ लाई २२ शो मात्र दिएको थियो।

तर, दर्शककाे माग बढेपछि ‘१२ गाउँ’ले शो बढाउँदै लगेको छ। मंगलबार काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको थियो। 
दुबै फिल्मलाई बरारबरी २५-२५ शो दिइएको थियो। सिंगल थिएटरमा भने सुरुदेखि नै ‘१२ गाउँ’को क्रेज बढी छ।

मल्टिप्लेक्समा केहीमा ‘छक्का पञ्जा–५’को शो धेरै छ भने केहीमा ‘१२ गाउँ’को शो बढी छ। ‘१२ गाउँ’ को क्रेज बढेपछि दीपकराजले आफ्नै हलमा ‘छक्का पञ्जा ५’ बराबर शो दिएका छन्। गिरीले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज सञ्चालन गरिरहेका छन्। सुरुमा दीपकराजको हलमा ‘१२ गाउँ’ २ शो दिँदा आफ्नो फिल्म छक्कापञ्जा ५ लाई ५ शो दिएका थिए। तर, मंगलबार भने दुवै चलचित्र ५-५ शो पाए।

‘ज्वाइँ साब’ले पनि ‘पिकअप’ लिइरहेको छ। सुरुका दुई दिन राम्रो अकुपेन्सी नदेखिए पनि त्यसपछि विस्तारै ‘ज्वाइँ साब’ हेर्ने दर्शकको संख्या बढेको छ। ज्वाइँ साब’का मुख्य कलाकार जितु नेपाल हुन्।

छक्कापञ्जा ५ ले बक्स अफिसमा ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले दाबी गरेका छन्। ‘यकिन विवरण पछि सार्वजनिक गर्नेछौँ’, राठीले भने। छक्कापञ्जा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो।
विराज भट्टका छोरा समीर भट्ट मुख्य आकर्षण रहेको चलचित्र १२ गाउँको ब्यापार पनि लोभलाग्दो छ। ‘१२ गाउँ’को व्यापारिक आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छैन। वितरक गोविन्द शाहीले एकै पटक एक साताको रिपोर्ट सार्वजनिक गरिने बताए।

‘हामीले सबैतिरको रिपोर्ट पाइसकेका छैनौं, तर दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ’, उनले भने, ‘आज पनि सबै शोहरु हाउसफुल छन्।सोमबारसम्म चलचित्रले ६ करोड रुपैयाँभन्दा बढी कमाइसकेको शाहीले दाबी गरे।

ज्वाईसाव निर्माणपक्षले बक्सअफिस कलेक्सन भने सार्वजनिक गरेको छैन।

हास्यब्यंग्य जानराकाको छक्कापञ्जा ५ वर्तमान राजनीतिक परिस्थिति र देशको अवस्थामाथि बनेको फिल्म हो भने १२ गाउँ एक्सन प्रधान फिल्म हो। छक्कापञ्जा ब्रान्ड नै बनिसकेकाले व्यापारमा शंका थिएन। तर,पछिल्लो एक दशकमा नेपाली चलचित्रमा एक्सन प्रधानको खडेरी नै लागेका बेला विराज भट्टले आफ्ना छोरालाई डेब्यु गराएर जोखिम मालेको थिए। तर,दर्शकको साथ पाउँदा अब नेपालमा फेरि एक्सन प्रधान फिल्मको दिन आउन लागेको भन्दै टिप्पणी भइरहेको छ।