विजयादशमीको रात हत्या भएका चन्द्रबहादुरको टाउको भेटियो सेप्टिक ट्यांकीमा

काठमाडौँ, २९ असोज : विजयादशमीको रात हत्या गरिएका बाँके कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेप्टिक ट्याङकी भित्र फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिक ट्यांकी भित्र फेला परेको हो।

हत्यामा प्रयोग भएको हँसिया पनि सेप्टिक ट्यांकीमै भेटिएको एसपी कार्कीले जानकारी दिए।प्रारम्भिक अनुसन्धानबाट रोल्पा घर भई पिपिरीमा बहिनीको घर बस्दै आएका २७ वर्षीय अनिल परियारको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका प्रहरीहरूले जानकारी दिए।

टाउको भेटिएको सेप्टिक ट्यांकी अनिलकी बहिनी अनिताको घरको हो। अनिल भने फरार रहेको र उनको खोजी भइरहेको एसपी कार्कीले जानकारी दिए।  

विजयादशमीका दिन चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी रामचन्द्रको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

रामचन्द्रको टाउको र शरीर अलग भएपछि अनिलले प्लाष्टिकको झोलामा राखेर टाउको लिएर गएको दृश्य सिसिटिभी फुटेजबाट देखिएको थियो।सोमबार अनिल बस्दै आएको घरमा प्रहरी पुगेको थियो। सोही क्रममा शंकास्पद देखिएपछि प्रहरीले सेप्टिक ट्यांकी खोलेर हेरेको थियो।

टाउको भेटिएपछि प्रहरीले अनिलकी बहिनीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

फरार रहेका अनिल यसअघि वैशाखमा मात्रै जेलबाट रिहा भएको खुलेको एसपी कार्कीले जानकारी दिए।उनी बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय काटेर रिहा भएका थिए।

चन्द्रबहादुरको टाउको बिनाको शब प्रहरीले आइतबार बिहान पौने दुई बजेतिर फेला परेको थियो। हत्या गरिएका चन्द्रबहादुर ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन्।

टाउको बिनाको  शव पोष्टमर्टमका लागि भेरि अस्पताल नेपालगञ्जमा लगिएको थियो । फेला परेको टाउको पनि अस्पताल पठाइएको छ।