बीपी राजमार्ग क्षत् विक्षत् हुनुको कारण क्रसर र माओवादी

काठमाडौँ, २९ असोज : पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग बीपी राजमार्ग क्षत् विक्षत् छ । यात्रु र चालकहरु जीवन जोखिममा राखेर चाडबाड तथा उपचारका लागि अति जरुरी यात्रा गरिरहेका छन् ।

बाटो चाँडो बनाउन सरकारलाई दबाब छ । सरकारको ठूलो आर्थिक लगानीका बाबजुद भरपर्दो रुपमा बाटो बन्न सकिरहेको छैन । रोशी नदीको किनारमा बालुवा थुपारेर कामचलाउ रुपमा गाडी गुडाउन मिल्ने बनाइएको छ । सामान्य पानी पर्दा पनि त्यो जतिखेर पनि बगाउन सक्नेछ । 

बीपी राजमार्गसँगै रोशी किनारका बजार र बस्तीहरु बगाएको छ । कयौँ बेपत्ताहरुको अझै अत्तोपत्तो छैन । यस क्रममा भएको मानवीय क्षतिसँगै भौतिक क्षति त झन् आकलनबाहिर छ । यो अवस्था किन आयो त ? काभ्रेका सांसद गोकुल बाँस्कोटाले पहिला नै संसदमा बोलेको एक क्लिप अहिले भाइरल भइरहेको छ । उक्त क्लिपमा उनी भनिरहेका छन्, क्रसर र नदी सँगै चल्न सक्दैनन् । कि क्रसर चलाउँ, न नदी चलाउँ । दुवै चलाउने हो भने एक दिन हाम्रो विनाश अवश्यम्भावी छ । 

अन्ततः उनले भनेजस्तै भयो । काभ्रे जिल्लाभरि अन्धाधुन्ध खुलेका क्रसर उद्योगहरूले जथाभावी खनीखोस्री गरेका कारण पनि भीषण पहिरो तथा बाढी आएको एक हदसम्म सत्य हो । तर सत्य यति मात्र होइन । अहिले विभिन्न पक्षबाट थप तथ्यहरु सतहमा आउँदै छन् कि बीपी राजमार्ग बनाउँदा माओवादीले गुणस्तरयुक्त बनाउन दिएन । उसले ठेकेदारसँग मोलमोलाइ गर्‍यो ।

चन्दा असुल्यो । उपकरणहरु लुट्यो । सरकारी अधिकारीहरुलाई अनुगमन गर्न दिएन । भूकम्पीय जोखिमदेखि बाढी पहिरोको जोखिमबाट राजमार्ग जोगाउनेबारे अध्ययन भइरहेका बेला सबै उपकरण लुटेर माओवादीले कब्जा गरेको थियो । माओवादीले भनेअनुसार चन्दा नदिएसम्म मान्छे अपहरण गर्ने र राजमार्ग निर्माणको काममा अवरोध गर्ने हर्कत गरेको थियो । उक्त सडकमा आफ्ना मान्छेलाई काममा लगाएजसरी नियमित तलब दिनुपर्नेसम्मका उसका माग पूरा गर्नुपरेको थियो । यस्तो अवस्थामा ठेकेदार, दातृ निकाय तथा सरकारी कर्मचारहरू हैरान भएर उसका मागमा घुँडा टेकेर आफ्नो ज्यान जागिर र व्यवसाय जोगाउँदै बीपी राजमार्गको काम कामचलाउ बन्न पुगेको थियो । 

त्यही कारण अहिले राजमार्गमा ठूलो क्षति भएको भन्दै जनस्तरमा कुरा उठ्न थालेको छ । यसले राष्ट्रिय बहस माग गर्दै छ । माओवादीका यस खालका हर्कत अन्यत्र पनि नदेखिएका होइनन् । तर यस कोणबाट अध्ययन र बहस नै भएको छैन ।

नेपाललाई गुणस्तरीय नेपाल बन्न नदिने र नेपाली नागरिकलाई नारकीय जीवनबाट माथि उठ्न नदिने योभन्दा ठूलो षड्यन्त्र अरु के होला ? नेपाली जनताले यस विषयमा कहिले आवाज उठाउने ? प्रचण्ड त फेरि पनि सत्ताबाट बाहिर पर्नेबित्तिकै दलित, जनजाति आदिले आन्दोलनमा उत्रनुपर्ने भन्दैछन् । के फेरि पनि यस्तै नेताहरुको आदेश तामेल गरिरहने हो ?