‘छक्का पञ्जा–५’ले तोड्यो ओपनिङको रेकर्ड

काठमाडौँ, २५ असोजः बिहीबारबाट रिलिज भएको चलचित्र ‘छक्का पञ्जा–५’ले सिरिजका सबै सिनेमाको ओपनिङको रेकर्ड तोडेको छ ।

फूलपातीको अवसर पारेर हिजोबाट रिलिज भएको चलचित्रले पहिलो दिन दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको छ । कलाकार तथा निर्माता दीपकराज गिरीले दुई करोडभन्दा माथि ओपनिङ गरेको बताएका छन् ।

यसअघि ‘छक्का पञ्जा–३’ले पहिलो दिन एक करोड ७० लाख ग्रसकलेक्सन गरेको थियो । त्यसलाई उछिन्दै यो सिरिजले नयाँ रेकर्ड बनाएको हो ।

आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको ‘छक्का पञ्जा–५’ दीपाश्री निरौला निर्देशित सिनेमा हो । दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ ।

सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गरेका छन् ।