बल्खुमा ९ रोपनी जग्गा हुँदाहुँदै एमाले किन कीर्तिपुरमा भवन बनाउँदै छ ?

सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन कीर्तिपुर नगरपालिका वडा नं २ मा निर्माण गर्ने भएको छ । सिंगो एमाले पंक्तिलाई आश्चर्यचकित बनाउँदै दसैँको महासप्तमीका दिन बिहीबार आकस्मिक रुपमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । 

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडामा बस्दै आएको बताए । च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई-तीनपटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय भएको उनको भनाइ थियो ।

शुक्रबार १२:२५ मा कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्यास हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए । ओलीले बिहीबारको बैठक बोलाउँदासम्म केन्द्रीय तहका कुनै नेतालाई यो जानकारी दिएका थिएनन् । बैठकमा विष्णु रिमालले ल्यापटप खोलेर अगाडि राखिदिएपछि ओलीले नयाँ भवनबारे ब्रिफिङ दिएका थिए । अनि मात्र अन्य नेताहरुले थाहा पाएका थिए ।

पार्टीको भवन बनाउनेजस्तो कुरा यति गोप्य किन राख्नुपरेको त ? 
किनभने यसभित्र कम्तीमा २० रोपनी जग्गा किनबेचको विषय निहित रहेको छ । कीर्तिपुर नगरपालिकाको तीनथानामा रहेको ११ रोपनी जग्गामा अहिले एमालेले घर बनाउन लागेको हो । उक्त जग्गा के कतिमा खरिद गरेको वा प्राप्त गरेको भनेर एमालेले सार्वजनिक गरेको छैन । 

अर्कोतिर बल्खुमा एमालेको ९ रोपनी जग्गा छ । उक्त जग्गालाई कौडीको भाउमा कसैलाई जिम्मा लगाएर ठूलो कमिसन रकम हात पार्न ओलीका वरिपरि रहेका केही नेता लागेको बुझिएको छ । खोलाछेउको जग्गा भन्दै कुनै व्यवसायीलाई यो काठमाडौँ महानगरभित्रको जग्गा बेच्ने र अर्को सस्तो ठाउँमा लिने दाउअन्तर्गत यो योजना अघि बढेको देखिन्छ ।  

२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडास्थित मदन नगर बल्खुमा रहेको केन्द्रीय कार्यालय भत्किएको थियो । त्यसयताका ९ वर्ष एमाले विभिन्न ठाउँमा डेरा सर्दै आएको थियो । 

एमालेलाई डेरामा राखेर नेतृत्वसँग नजिक हुने र आफ्नो दुनो सोझ्याउने एउटा स्वार्थ समूह उहिल्यैदेखि सक्रिय थियो । त्यही समूहले कहिले धुम्बाराहीको पासाङ ल्हामु प्रतिष्ठान त कहिले थापाथली हाइटमा एउटा मारवाही व्यवसायीको घरमा एमालेलाई पुर्‍यायो । हाल ललितपुरको च्यासल पुगेको छ र त्यहाँ पनि बाढी र डुबानले चैनसँग बस्न दिएको छैन । 

त्यसो त बल्खुमा पनि ९ रोपनी जग्गा भएको एमालेले त्यहीँ केन्द्रीय कार्यालय भवन बनाउने भनेर कार्यकर्ताबाट रकम उठाउने र नेताबाट शिलान्यास गराउने काम नभएको होइन । एमाले अध्यक्ष ओलीले २०७८ वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसरमा मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ पार्टी कार्यालय भवनको शिलान्या गरेका थिए । त्यतिखेर दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने भनिएको थियो। भवन निर्माण कोष भनेर बैंकमा अलग्गै खाता खोलेर प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पनि उठाइएको थियो ।

अब एकातिर नयाँ ठाउँ खोजेर भवन निर्माण गर्दा लागत बढ्ने भन्दै तिनै कार्यकर्ताको थाप्लोमा बजेटको बोझ हालेर फेरि रकम उठाउने खेल हुनेछ । सरकारी कार्यालयमा रहेका एमालेनिकट कर्मचारीलाई तार्गेट दिएर संस्थागत भ्रष्टाचार गर्न लगाइनेछ ।

अर्कोतिर बल्खुको जग्गा बेचेर त्यही समूह मालामाल हुनेछ, जसले यो परियोजनाबाट लाभ लिने दाउ रचेको छ । हुन त सर्वोच्च अदालतको पछिल्लो फैसलाले नदी किनारामा खाली छाड्नुपर्ने जग्गाको मापदण्ड दोब्बर पार्न भनेकाले एमालेको जग्गा अझै घट्ने सम्भावना छ ।

४० मिटर नदी किनारामा छाड्नुपर्ने मापदण्ड लागू भएपछि डेढ रोपनी मात्र जग्गा बाँकी हुनेछ । आखिर जे भए पनि ओलीलाई घेरिरहेको समूहले जुन गोपनीयता अपनाएर रहस्यमय ढंगले कीर्तिपुर परियोजना अघि सारेको छ, त्यसभित्र पक्कै पनि कुनै न कुनै दाउपेच र चलखेल अवश्य लुकेको छ । ढिलोचाँडो त्यसको पर्दाफास अवश्य हुनेछ ।