‘छक्कापञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ आजदेखि हलमा

काठमाडौं । दशैं फूलपातिको अवसरमा आजदेखि तीन नेपाली फिल्म हलमा प्रदर्शनमा आएका छन् । यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’सहित ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र भारतीय फिल्म ‘जिग्रा’ रिलिज भएका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्मले घरेलु बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । बुधबार रातीसम्मको अग्रिम टिकट विक्रीको ट्रेन्ड हेर्दा प्राप्त कूल २३० शोमध्ये ६५ शो ‘सोल्डआउट’ भैसकेको छ ।

त्यसबाहेकका अधिकांश शोको अकुपेन्सी ९०, ८०, ६० प्रतिशत क्रमशः छन् । यसको अर्थ, फिल्म प्रदर्शन हुने समयसम्म ती शो पनि शतप्रतिशत हुनसक्ने अनुमान छ । जसले गर्दा, फिल्मको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको हो

चर्चित फिल्म सिरिजको यो पाँचौ श्रृंखलामा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, निर्मल शर्मा, वर्षा सिवाकोटी लगायतको अभिनय छ । १६५ मिनेट रनटाइमको यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्राप्त छ । यसपटकको कथावस्तुमा भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरिएको छ ।‘छक्कापञ्जा ५’ आजैदेखि अमेरिका, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा पनि प्रदर्शनमा आउँदैछ । अर्को सातादेखि मध्यपूर्वमा लाग्ने तयारी छ ।

‘१२ गाउँ’को ओपनिङ पनि सुखद हुने प्रक्षेपण

बुधबार रातीसम्मको अग्रिम टिकट विक्रीको ट्रेन्ड हेर्दा विराज भट्ट निर्देशित फिल्मको ओपनिङ सुखद हुने देखिएको छ । यो फिल्मले देशभर प्राप्त गरेको १४० शोमध्ये रातीसम्म २० शो सोल्डआउट देखिएको छ ।

यो एक्सनप्रधान र सामाजिक कथावस्तुको फिल्ममा शोषण र अन्याय अत्याचारविरुद्ध मुख्य पात्रले गर्ने संघर्ष चित्रण गरिएको छ । समीर भट्ट, विराज भट्ट, न्यान्सी खड्का, कजिन कोइरालाको यसमा शीर्ष भूमिका छ । यो फिल्मको रनटाइम १४७ मिनेट र पीजी सर्टिफिकेट छ ।

‘ज्वाइँ साब’ र बलिउडको ‘जिग्रा’ पनि आजै

विहिवारदेखि जितु नेपाल अभिनित नेपाली फिल्म ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आएको छ । यो कमेडी फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । तपाईंलाई कमेडी फिल्ममा रुचि छ भने यो फिल्म रुचिकर हुनसक्छ । जितुसहित नीति शाह, हिमेश पन्त, बुद्धि तामाङको अभिनय यसमा छ । यो फिल्मको रनटाइम १३५ मिनेट र युनिभर्सल सर्टिफिकेट प्राप्त छ ।

आलिया भट्ट अभिनित बलिउड फिल्म ‘जिग्रा’ पनि प्रदर्शनमा आएको छ ।