बाढीग्रस्त क्षेत्रमा मन्त्रीहरूलाई प्रवेश निषेध गर !

काठमाडौँ, २३ असोज : बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन मंगलबार मात्र संघीय सरकारका ३ मन्त्री सिन्धुली पुगे । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली हेलिकोप्टरमा बिहानै खुर्कोट पुगेको थियो ।

उनीहरूले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे । रामेछाप जोड्ने बेलीब्रिज बगेपछि यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरेकाले त्यसको रमिता हेर्न मन्त्रीहरु पुगेका हुन् । मन्त्रीहरूले सेनाको कामको निरीक्षण गर्न त्यहाँ पुगेको बताएका छन् ।

बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायतसँग मन्त्रीहरूले छलफलका नाममा अल्मल्याइरहेका छन् ।

मन्त्रीहरू सिन्धुलीबाट सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको छ । यसअघि ललितपुर र काभ्रे पुगेर गृहमन्त्री रमेश लेखकले भाषण र उपदेश दिएका थिए । प्रहरी र अरु सरकारी कार्यालयका कर्मचारीका साथै कांग्रेस कार्यकर्ताको डफ्फा लिएर हिँडिरहेका उनी विपदमा राजनीति नगर्न भन्दै उपदेश पनि बाँडिरहेका छन् । 

दसैँको मुखमा नेपाली जनताले ठूलो विपद भोग्नुपरेको छ । प्राकृतिक विपदभन्दा बढी गृहमन्त्री नालयकीको शिकार नेपालीले बन्नुपरेको छ । २ सय भन्दा बढी नेपालीको ज्यान जानुमा गृहमन्त्रीको लापरबाही र नालायकी सबैभन्दा बढी जिम्मेवार छ ।

उनले आफ्नो भागको जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुको साटो उल्टै विपदलाई रमिता बनाएका छन् । यिनै बाढीपहिरो पीडित नागरिकबाट उठाएको करको दुरुपयोग गरी महँगो घुमघाममा खर्च गरिरहेका छन् । अब यस्ता मन्त्रीहरुका भ्रमण निषेध गर्नुपर्छ । जनताले पनि तिनलाई बहिष्कार गर्नुपर्छ ।

अन्य मुलुकमा भए यस्ता नालयक गृहमन्त्रीलाई प्रधानमन्त्रीले नै तत्कालै बर्खास्त गरी सजायको भागीदार बनाउँथे । तर हाम्रा प्रधानमन्त्रीलाई पनि उपदेश बाँड्न र आफ्नो बडप्पन प्रदर्शन पाए पुगिरहेको छ । मानौँ उनी यो देशको प्रधानमन्त्री बन्नु नै हाम्रा लागि ठूलो कृपा र उपलब्धिको विषय हो, उनीजस्ता प्रधानमन्त्री पाउनु नै नेपाली जनताको अहोभाग्य हो ।

पुराना दल र तिनका नेताहरूको यस्तै अहंकार र नालायकीपनको कारण देशमा निराशा चरम बिन्दुमा पुगेको छ । त्यो निराशा जुनसुकै नाममा विष्फोट हुने जोखिम बढिरहेको छ । नयाँ देखि पुरातन शक्तिहरू निराशामा मलजल गर्न लागिपरहेका छन् ।

यी सबै मिलेर देशलाई बंगलादेश बनाउने कि श्रीलंका भन्नेमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । शक्ति र जिम्मेवारीमा हुनेहरुले नचेतेको देख्दा लाग्दै छ कि त्यो दिन निकै चाँडै आउँदै छ । शेख हसिना अनि राजापाक्षेको  हालत ककसले बेहोर्दै छन् ? हेर्नुपर्ने भएको छ ।

बरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यी प्रत्येक नेता र उच्च प्रशासकहरुले विदेशमा कुनकुन बैंकमा पैसा जम्मा गरेका छन्, त्यसलाई अवैध घोषणा गरी तत्काल कानुनको दायरामा ल्याउन थाल्नुपर्दछ । ताकि यी देशलाई भुंग्रोमा पारे भाग्न खोज्नेहरु भागेर जाने ठाउँ पनि बाँकी नहोस् ।