प्रकाश राउतले विश्वम्भरको भारी बोक्ने कि आफ्नै लय बनाउने ?

जे होस्, त्यो अब एउटा इतिहासको कालखण्ड भइसक्यो । अब राउतले न्यायिक स्वतन्त्रता र अदालतको सक्षमताका लागि के गर्नेछन् भन्ने कुराले नै खास अर्थ राख्नेछ ।

प्रकाश राउतले विश्वम्भरको भारी बोक्ने कि आफ्नै लय बनाउने ?

काठमाडौँ, २१ असोज  : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार पद तथा गोपनीयताको शपथ लिएर आइतबारै पदभार सम्हाले । शनिबार मध्यराति विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएसँगै उनको ठाउँ राउतले लिएका हुन्।

यसपालि राजनीतिक दलहरुले न्यायिक नेतृत्वको आगमनमा खासै राजनीति गरेनन् । एक दिन पनि यो संवैधानिक पद रिक्त हुन दिएनन् । सिंगो न्यायपालिकाले दसैँ बिदा मनाइरहँदा पनि राउतले कार्यभार सम्हाल्नकै लागि नियुक्ति, शपथ र पदभार ग्रहणको काम भयो । जबकि यसअघि हरिकृष्ण कार्कीले घर जानभन्दा केही दिनअघि मात्र नियुक्ति पाएका थिए । आफ्नो पूरैजसो कार्यकाल कायममुकायम भएर बिताउनुपरेको थियो । 

कार्की एमाले कोटाका थिए भने राउत कांग्रेस कोटाबाट सिधै सर्वोच्च प्रवेश गर्न पाउने भाग्यमानी मानिन्छन् । यही कारण कतिपयले उनीहरुलाई ‘नाति जर्नेल’ भनेर समेत टिप्पणी गर्छन् । कार्कीले समयमै नियुक्ति नपाउनुका पछाडि सर्वोच्चको न्यायाधीश भएपछि राजनीतिक दलहरुलाई रिझाउन नसक्नुलाई प्रमुख कारण मानिन्छ । यदि उनले त्यही कारण समयमा नियुक्ति नपाएका हुन् र राउतले रिझाउन सकेका कारण समयमै नियुक्ति पाएका हुन् भने अर्को विडम्बनाको विषय भन्नुपर्ने हुन्छ ।

जे होस्, त्यो अब एउटा इतिहासको कालखण्ड भइसक्यो । अब राउतले न्यायिक स्वतन्त्रता र अदालतको सक्षमताका लागि के गर्नेछन् भन्ने कुराले नै खास अर्थ राख्नेछ । आफू नियुक्त भइसकेपछि अब उनले कसैलाई रिझाउनुपर्ने छैन । खुरुखुरु आफ्नो काम गरे पुग्ने देखिएको छ । 

उनले पदभार ग्रहणपछि केही अर्थपूर्ण संकेत गरेका छन् । उनले भनेका छन् कि अब न्यायालय लयमा फर्कियो । विगतमा चोलेन्द्रशमशेर राणाका पालामा बिथोलिएको अदालतको वातावरण अब साम्य भएको भन्ने उनले संकेत गरेका हुन सक्छन् ।

त्यसैले उनले आफ्नो पक्षमा सबै कर्मचारी र न्यायाधीशहरु रहेको पनि भन्न भ्याए । यसको अर्थ, यसअघिका न्यायाधीशका पक्षमा सर्वोच्च अदालत एक ढिक्का थिएन कि भन्ने प्रश्न उब्जाएको छ । अथवा उनका पक्षमा पनि नहुन सक्छ भन्ने अर्थ पनि निकाल्न सकिन्छ । जे भए पनि प्रत्येक प्रधानन्यायाधीश एउटा डर बोकेर जिम्मेवारी लिनुपर्ने अवस्था आएछ । त्यो भनेको आफू सर्वोच्चबाट एक्लिने र बहिष्कृत हुने सभवना । 

यस्तो डर बोकेर आएको प्रधानन्यायाधीशले न्यायालयलाई कसरी लयमा डो¥याउन सक्छ ? सहज प्रश्न उठ्छ । अर्को, उनले आफ्नै लय बनाउने कि हिजो अरुले बनाएको लयमा हिँडाउने भन्ने अर्को प्रश्न छ । हिजो विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाले बनाएको एउटा लय छ ।

त्यो लय भनेको गण्डकी र लुम्बिनी प्रदेशबाट आएका केही नोकरशाहले लाभ पाउने लय हो । यस लयबाट सुदूरपश्चिमका सक्षम पीएचडीधारी समेतले अन्याय भोग्नुपर्यो। अदालतमा काम गरिरहेका न्यायाधीशमा पनि वंशज र अंगीकृतको वर्ग खडा गरियो । श्रेष्ठका पालामा रोपिएको विभेदको यो बिउ कुनै दिन अवश्य विष्फोटक भएर आउनेछ । त्यसले न्यायालयलाई अर्को चोलेन्द्र प्रकरणसम्म पु¥याउनेछ । 

त्यसैले राउतले श्रेष्ठ र उनको टिमप्रति अनुगृहित हुनुपर्ने जरुरी छैन । उनले श्रेष्ठकै लयमा हिँडाउँछु भनेमा अब बारलाई साथ लिन सक्ने छैनन् । करिअर जजको साथ पाउने छैनन् । सर्वोच्चमा भाँडिएका मनहरु भाँडियै रहनेछन् । उनका पालामा न्यायाधीश नियुक्ति हुन सक्ने छैन । यसको असर न्यायसम्पादनमा पर्नेछ ।

अदालत रिक्ततातिर जानेछ । अनि राउत एक अक्षम प्रधानन्यायाधीश भएर निस्कनुपर्नेछ । त्यसैले उनले श्रेष्ठले जुन बिन्दुबाट गल्ती गरेका थिए, त्यही बिन्दुबाट सुधार्ने आँट गर्नुपर्छ । दुई–चार कर्मचारीले घुमाएका भरमा निर्णय गर्ने होइन, आफ्नो विवेक र न्यायिक मन प्रयोग गर्नुपर्छ ।