कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक

काठमाडौँ, २० असोजः  सङ्खुवासभाको जिल्ला कारागारमा रहेको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले नौ सय थानभन्दा बढी पुस्तक उपलब्ध गराएको छ । आज एक कार्यक्रमबीच साब्लाबुङ पुस्तकालय अभियानले कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेको हो । 

जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । कैदीबन्दीलाई कानुनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी, साहित्यसम्बन्धी रु एक लाख ५० हजार बराबरका पुस्तक उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

आफूहरूले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको अध्यक्ष राईले बताउनुभयो । कारागार प्रमुख जेलर तुलसी पौडेलले यस कार्यले कैदीबन्दीहरूलाई आवश्यक अध्ययन तथा महत्वपूर्ण विषयमा जानकारी लिन सघाउ पुग्ने बताउनुभयो । जिल्ला कारागारमा हाल एक सय ३५ कैदीबन्दी रहेका छन् ।