‘मिडियाको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्छ’

काठमाडौँ, २० असोजः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले आमसञ्चारमाध्यमको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

नुवाकोटको बट्टारस्थित नुवाकोट एफएमको वार्षिकोत्सव कार्यक्रममा आज उहाँले सामाजिक सञ्जालको भीडमा जनतालाई भ्रमबाट मुक्त गराउन मिडियाको भूमिका सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमा महत्वपूर्ण हुने बताउनुभएको हो । “निरन्तर गलत तथ्यलाई प्रवाह गर्दा जनताले त्यसलाई नै सत्य होला भनेर बुझ्न सक्छन्, अहिले यसैको प्रभावले सरकारको कामकारबाही र जनताका मुद्दा ओझेलमा पर्दै आइरहेका छन्”, प्रवक्ता डा महतले भन्नुभयो, “परिवर्तन र आधुनिकताको नाममा हुने गलत क्रियाकलापविरुद्ध मिडियाको भूमिका अझ बढी सान्दर्भिक हुन्छ । त्यसैले मिडियाले आफूलाई परिवर्तन गर्दै जनअपेक्षाअनुसार काम गर्ने र जनताले पनि सत्य सूचनाका लागि मिडियामा विश्वास गर्ने अवस्था निर्माण गर्नुपर्छ ।”

विकास निर्माण, सामूहिक एकता र नागरिक अधिकार तथा दायित्वलाई स्मरण गराउँदै जिम्मेवारी बोधका साथ अगाडि बढ्न आमसञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने प्रवक्ता डा महतको भनाइ थियो ।